दुई प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक

342
  •  
  •  
  •  

पोखरा, ४ चैत(ओएनएस) : पोखरा महानगरपालिकाले दर्ता तथा नवीकरण गर्न अटेरी गर्ने दुई प्याराग्लाइडिङ कम्पनीलाई सोमबारदेखि उडानमा रोक लगाएको छ । महानगरपालिकाले गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाएको हो ।

फाइल तस्बिर

महानगरले पटक–पटक म्याद दिएर दर्ता हुन आग्रह गरेपनि उपस्थित नभएपछि उडान बन्द गरेको बताएको छ ।
महानगर राजश्व शाखाका आन्तरिक लेखा परीक्षक रोमनाथ उपाध्यायका अनुसार पोखरा महानगरमा सोमबारसम्म ३५ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण गराएका छन् । महानगरले व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्मका लागि म्याद तोकेको थियो ।

थोरै कम्पनीलेमात्रै व्यवसाय दर्ता गरेको भन्दै महानगले पुन २६ गतेसम्म फेरि समय दिएको थियो । उक्त समयावधिमा जम्मा १० वटा कम्पनीले मात्रै दर्ता र नवीकरण गरेका थिए ।

पछि महानगरमै उपस्थित भएर व्यवसायीले पुन समय थप्न माग गरेपछि फागुन २६ गतेसम्मको समय सम्मका लागि समय दिएको थियो । सो समयमावधिमा अधिकांश प्याराग्लाइडिङ कम्पनीले अटेरी गरेका थिए ।
पछिल्लो पटक तोकिएको म्यादमा समेत जम्मा २४ वटा कम्पनीले मात्रै व्यवसाय दर्ता गराएका महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बताए ।

पटकपटक म्याद दिँदा पनि अटेरी गरेपछि कारबाही प्रक्रियामा जाने महानगरले योजना बनाएको थियो । आन्तरिक लेखा परीक्षण प्रमुख रोमनाथ उपाध्यायले अटेरी प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक लगाउन पोखरा वडा नम्बर १८ सँग सहकार्य गरिरहेको बताए ।

महानगरमा हालसम्म ५६ वटा कम्पनी प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएका छन् । त्यसमध्ये ४० वटा कम्पनीमात्रै सक्रिय छन् । प्याराग्लाइडिङ कम्पनीबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार र प्रदेश सरकारले १ लाख रुपैयाँ लिनेछ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनीबाट वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ ।


  •  
  •  
  •