पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्नुपर्ने विकास समितिको ठहर

352
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सन कम्पनीले चरम लापरबाही गरेको विकास तथा प्रविधि समितिले ठहर गरेको छ ।

शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारबाहीको लागि निर्देशन दिएको हो ।

उपत्यका सडक विस्तार आयोजनाको निर्देशनविपरीत गुणस्तरहीन काम गरेको पाइएकाले त्यस कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले बताइन् ।

यसअघि समिति सभापति खड्का नेतृत्वको टोलीले पुल निर्माणबारे स्थलगत अध्ययन गरेको थियो ।  स्थलगत अध्ययन रिपोर्टमा अनुगमनको क्रममा २९.५ मिटर गहिरो (लम्बाई)का १६ वटा (१२००मिलीमिटर) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको तर निर्माण व्यवसायीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र २ (दुई) वटा पाइल्स क्र्याक भएको प्राविधिक परीक्षणबाट देखिएको उल्लेख छ ।

स्थलगत अध्ययनपछि समितिले पुल ठेक्का लिने निर्माण व्यावसायीलाई कारवाही गर्न निर्देशन दिएको हो ।
दिएको निर्देशनसमेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुशी गर्ने त्यस कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।

समितिले त्यस पुलको पुनस् डिजाइन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ । यसैगरी प्रतिवेदनमा आयोजना पूर्व तयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्ने, काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरी निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने उल्लेख छ । निर्माण कार्यको गुणस्तर कायम गर्न आयोजना सम्बद्ध पदाधिकारीहरुले आवश्यकता अनुसार पटकपटक प्राविधिक परीक्षणसहित गुणस्तर कायम हुने आधार सुनिश्चित गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।


  •  
  •  
  •