क्रूज पानीजहाजका यात्रुलाई क्याम्बोडियामा फूल गुच्छासहित स्वागत

115
  •  
  •  
  •  

एजेन्सी । जापान र ताईवानसहित पाँच समृद्ध एशियाली देशले आफ्ना बन्दरगाहमा आउन रोक लगाएको एक क्रूज पानीजहाजका यात्रुलाई क्याम्बोडियाले फूलका गुच्छासहित स्वागत गरेको छ ।

क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनले फूलका गुच्छासहित परम्परागत पछ्यौरा उपहार दिँदै स्वागत गरेको हुन् । एमएस वेस्टर्ड्याम नाम गरेको पानीजहाजलाई एशियाका पाँच बन्दरगाहमा रोकिन अनुमति दिइएको थिएन ।

त्यसलाई सिँहानुकभिल बन्दरगाहमा आउन दिएपछि अहिले क्याम्बोडियाका प्रधानमन्त्रीको सर्वत्र प्रशंसा भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

त्यसअघि त्यो पानीजहाजलाई क्याम्बोडियाको भन्दा राम्रो स्वास्थ्यप्रणाली भएका जापान, ताइवान र थाईल्यान्ड, द फिलिपिन्स र गुआमजस्ता राष्ट्रले आफ्नो बन्दरगाहमा आउन दिएका थिएनन् ।

क्याम्बोडियाको स्वास्थ्य मन्त्रालयले त्यो पानीजहाजमा रहेका २,००० यात्रु मध्येबाट २० जनाको नमुना जाँच गरेको छ । ती मध्ये कसैमा पनि कोरोनाभाइरसको संक्रमण नभएको बताइएको छ ।
क्याम्बोडिया आइपुगेका पानीजहाजका यात्रुलाई आगामी दिनमा भाडामा लिइने विशेष विमानबाट आफ्ना देश पठाउने योजना बनाइएको छ ।

पछिल्लो विवरणअनुसार नयाँ कोरोनाभाइरस संक्रमणको कुल संख्या फेब्रुअरी १३ तारिखसम्ममा ५५,००० नाघिसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।


  •  
  •  
  •