प्रधानमन्त्रीद्वारा पानीजहाज कार्यालय उद्घाटन

70
  •  
  •  
  •  

काठमाडौं, २ फागुन(ओएनएस) : सरकारले पानीजहाज कार्यालय स्थापना गरेको छ । बिहीबार बिहान आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एकान्तकुनमा रहेको नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताए ।

नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उनले बताए ।
‘भारतको गंगा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ’ उनले भने, ‘भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।’

अहिले रेलभन्दा पनि जलयातायात चाँडो सञ्चालनमा आउने प्रधानमन्त्री ओलीले बताए ।
यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिए ।

प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताए । गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानीजहाज सञ्चालन र काठमाडौँ–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको उनले जानकारी दिए । भारतसँग ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) मा नयाँ आयाम थपिएको उनले बताए ।

भौतिक पूर्वाधार मन्त्रालय मातहत रहनेगरी कार्यालय उद्घाटन भएको हो । यसअघि २०२७ सालमा पानी जहाज दर्ता ऐन प्रचलनमा आए पनि कार्यालय भने स्थापना भएको थिएन ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।

सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताए । महासेठले भने, प्रधानमन्त्रीज्यूले पानीजहाजको कुरा गर्दा खाल्डोमा कागजको जहाज बनाएर उल्लाईयो । जसले हामीलाई अझ काम गर्ने जोश आयो ।’

कार्यक्रममा मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अहिलेसम्म सडक यातायात र हवाई यातायात मात्रै सञ्चालनमा रहेकामा जल यातायात र रेल यातायातको शुरुआत र विस्तार गर्न मन्त्रालय लागिपरेको बताए ।

मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले जल यातायात हवाई र सडक यातायातभन्दा सस्तो हुने औँल्याउनुभयो । मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहने गरी कार्यालय स्थापनाको निर्णय गरेको बताए ।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।

महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो ।

मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा रहनेछ ।


  •  
  •  
  •