एमाले सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने

70
  •  
  •  
  •  


काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले तत्काल एकीकृत समाजवादी पार्टी रोज्न पाउने गरीअन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने अन्तरिम आदेश दिएको हो ।

सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टीमा आबद्ध हुन निर्वाचन आयोगमा निवेदन दिई रोजेको आधारमा सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्नू, नगराउनू भनी निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि सर्वोच्चले अन्तरिक आदेश जारी गरेको हो ।
‘सो आयोगले उक्त निवेदन अनुसार दल दर्ताको कारबाहीका क्रममा भदौ ९ मा सनाखतका लागि उपस्थित गराउने निर्णय गरेकोमा त्यसरी सनाखत गर्नुपूर्व नै निवेदकहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट समेतले सो दलमा आफ्नो नाम पनि समावेश गरिपाउँ भनी भदौ ८ गते निर्वाचन आयोगमा लिखित निवेदन दिएको तथा सनाखतनका लागि मौजुद रहेको भन्ने समेत देखियो,’ आदेशमा भनिएको छ ।

उनीहरूका बारेमा आयोगले कुनै निर्णय लिएको थिएन । त्यसरी निर्णय नगर्दा दुवैको दलीय आबद्धताको हैसियतमा असर पर्ने देखिएको सर्वोच्चको ठहर छ । ‘दर्तासम्बन्धी निर्णय नहुँदैको अवस्थामा निवेदनसहित प्रत्यर्थी आयोगमा उपस्थित हुने रिट निवेदकहरूको मागका सम्बन्धमा कुनै बेहोरा उल्लेख नै नगरी भएको दल दर्तासम्बन्धी निर्णय राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ समेतका दृष्टिले मनासिव नदेखिएको र यसको परिणामस्वरुप निवेदकहरूको दलीय आबद्धताको हैसियतमा असर पर्न जाने देखियो,’ अदालतले भनेको छ ।

एमालेको माधव नेपाल पक्षले ३ भदौमा दल विभाजनसम्बन्धी निवेदन दिँदा सहभागी नभएका सांसदद्वय पाण्डे र भट्टले ८ भदौमा निर्वाचन आयोग पुगेर नयाँ पार्टीमा सनाखत गर्न निवेदन दिएका थिए । तर, दल विभाजनसम्बन्धी अध्यादेशले एकपटक दिएको निवेदनका आधारमा सनाखत गर्ने भनेको भन्दै आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो ।

 

 


  •  
  •  
  •