पाल्पा पहिरोः मृत्यु हुनेको संख्या ३ पुग्यो

646
  •  
  •  
  •  

पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ११ सम्मवारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

तानसेन देखि ५ किलोमिटर पश्चिम तानसेन रिडी सडकखण्डको ५ कि.मी. पश्चिम सम्मवारीमा गएको पहिरोमा चार सवारी साधन पुरिँदा ३ जनाको ज्यान गएको हो।

पहिरो हटाउँदै गर्दा पुनः माथिबाट पहिरो झर्दा सडकमा रोकिएका चारवटा सवारी साधन पुरिन पुगेका थिए।

पहिरोले सवारी साधन पुर्दा दुईजनाको घटनास्थलमै र एकजनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार अपरान्ह पौने ५ बजे पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई माथिबाट झरेको पहिरोले सडकदेखि तल बगाएको थियो ।

पहिरोमा परी मृत्यु हुनेमा चितवनका वीर बहादुर गुरुङ, होक्से–४ काभ्रेका निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेका छन् । मृतक सबै तीनैजना ट्याङ्करमा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।

त्यस्तै लु २ च ७०४३ नम्बरको अल्टो कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका थिए।


  •  
  •  
  •