पीएल सिंहद्वारा जनआन्दोलन पदक बहिस्कार

90
  •  
  •  
  •  

काठमाडौं २६ कात्तिक ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले जनआन्दोलन स्वर्णपदक बहिष्कार गरेका छन्। उनले बहिष्कार गरेपछि पत्रकार हरिहर विरहीले उक्त पदक प्राप्‍त गरेका छन्।

सिंहले २०६२/६३ सालको आन्दोलनको उपलब्धि भनेर जेलाई कांग्रेसले स्वीकार गरेको थियो, त्यसले २०४६ सालमा गणेशमान सिंह नेतृत्वमा भएको आन्दोलनको उपलब्धि अस्वीकार गरेकाले उक्त सम्मान बहिष्कार गरेको जानकारी आफूले निर्णायक मण्डललाई गराएको अन्नपूर्णसँग बताए।

उनले जनआन्दोलन स्वर्णपदकको जुरीलाई भनेका थिए, ‘यो अवार्ड स्वीकार गर्नु भनेको मेरो प्रजातन्त्रवाद र संविधानवाद अनि २०४६ सालका उपलब्धिहरूविरुद्ध सम्झौता गर्नु हो, वर्तमान अराजकतालाई प्रोत्साहित गर्नु हो।’ पदकको जुरीमा पूर्वसभामुख दमननाथ ढुंगाना, कांग्रेस नेता प्रदीप गिरी र होमनाथ दाहाल थिए। पदकमा एक तोला सुन र तीन तोला चाँदी छ।

२०६२/६३ को आन्दोलनपछि २०६३ वैशाखमा ब्युँत्याइएको प्रतिनिधिसभा असंवैधानिक भएको भन्दै सपथ नलिने दुईजनामध्ये एक कृष्णप्रसाद भट्टराई र अर्का सिंह हुन्। सिंहले २०४६ सालको जनआन्दोलनताका अन्तर्राष्ट्रिय जगत्सँग समन्वय गर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए। उनी २०४६ सालको उपलब्धिका रूपमा आएको २०४७ सालको संविधान पुनस्र्थापनाका पक्षमा छन्।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •