पाल नै गोलमाल

96
  •  
  •  
  •  

काठमाडौं २४ जेठ ।
-भूकम्प पीडितलाई अस्थायी ओतका लागि लाखौं पाल वितरण गरिए अझै २ लाख पीडितले पाल नपाएको भन्दै रेडक्रस प्रतिनिधिमार्फत हारगुहार गरिरहेका छन्। गृह मन्त्रालयले भने पीडित घरधुरीभन्दा बढी टेन्ट तथा पाल बाँडिसकेकाले अब नबाँड्ने, स्टक राख्ने जनाउ दिएको छ।

गृह मन्त्रालयले समेत टेन्ट र पालको पूर्ण रेकर्ड नराख्दा यसको प्राप्तिदेखि वितरणसम्म गोलमाल देखिएको छ। गृहले राखेको तथ्यांक अन्यसँग मेल खाँदैन भने गृह आफैंले संसदीय समितिमा देखाएको विवरणसमेत अधुरो हुँदा पाल कता गायब गरियो भन्ने आशंका बलियो देखिएको छ।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मंगलबार व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई भूकम्पको क्षति र राहत विवरण प्रस्तुत गर्दै ९ लाखभन्दा बढी टेन्ट र पाल भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको दाबी गरे।
नेपाली सेना र अन्य संघसंस्थाले डेढ लाख टेन्ट तथा पाल पीडितलाई बाँडेको स्विकारेका छन्। व्यक्तिगत रुपमा वितरण गरिएका टेन्ट तथा पालको त कुनै गणनै छैन।

गृह, सेना र विभिन्न संघसंस्थाको दाबीअनुसार यी तीन पक्षले मात्रै वैशाख १२ यता साढे १० लाख टेन्ट तथा पाल भूकम्प प्रभावितलाई वितरण गरिसकेका छन्। यो संख्या भूकम्पले पूर्ण र आंशिक रुपमा क्षति पुर्या्एको घरसंख्याभन्दा साढे २ लाख बढी हो।
सरोकारवालाले पीडित परिवारभन्दा अधिक पाल वितरण गरिसकेको दाबी गरिरहे पनि २० लाख पीडित परिवारले भने घरविहीन भएको ४० दिन बित्दा पनि ओत लाग्ने पाल नपाएको गुनासो गरिरहेका छन्।

‘भूकम्प प्रभावित विभिन्न ५७ जिल्लाका १ लाख ९९ हजार ९ सय २ जनाले अहिलेसम्म टेन्ट तथा पाल पाएका छैनन्। उनीहरुले हाम्रा जिल्ला प्रतिनिधिमार्फत पाल मागिरहेका छन्,’ नेपाल रेडक्रस समाजका सञ्चार विभागप्रमुख दिव्यराज पौडेलले नागरिकसँग भने, ‘हामीले यो सूचना गृह मन्त्रालयलाई पठाइसकेका छौं।’

गृह मन्त्रालयका अनुसार वैशाख १२ गते गएको ७.६ म्याग्निच्युड स्केलको भूकम्प र त्यसपछिको अनुकम्पनका कारण देशभर कुल ५ लाख ५ हजार ५ सय ७७ वटा निजी घर पूर्ण रुपमा ध्वस्त छन्।
भूकम्पकै कारण २ हजार ६ सय ३८ वटा सरकारी भवनमा पूर्ण क्षति पुगेको छ। यस्तै, २ हजार ७८ हजार ९ सय ७ निजी घर र ३ हजार ३ सय ९३ सरकारी भवनमा आंशिक क्षति पुगेको छ।

गृहको तथ्यांकअनुसार भूकम्पका कारण हालसम्म कुल ७ लाख ९० हजार ५ सय १५ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। उपप्रधान तथा गृहमन्त्री गौतमले क्षति पुगेको घरको संख्याभन्दा बढी टेन्ट तथा पाल बाँडेको संसदीय समितिमै दाबी गरे पनि अझै २ लाखले टेन्ट तथा पाल मागिरहेका छन्। उनले समितिको बैठकमा ९ लाख ४ सय ३६ वटा टेन्ट तथा पाल वितरण गरेको विवरण पेस गरेका थिए।
सेना, विभिन्न संघसंस्था र व्यक्तिगत तवरमा झिकाई वितरण भएका टेन्ट तथा पाल गृहले यसमा जोडेको छैन।

वितरित टेन्ट तथा पाल वास्तविक पीडितकहाँ पुगेको छ वा अन्यले कुम्ल्याए भन्ने तथ्यांक भने कसैले राखेको छैन। काठमाडौं र जिल्ला सदरमुकामबाट टेन्ट तथा पाल चलानी गरेकै आधारमा पीडितले प्राप्त गरिहाल्यो भन्नेमा ढुक्क छन् सरकारी निकाय। वास्तविक पीडितले टेन्ट तथा पाल पाए–नपाएको खोजी गर्ने कार्य कसैले गरेको छैन। सबैलाई टेन्ट तथा पाल यति संख्यामा वितरण भयो भन्ने अंक जोड्दैमा भ्याइनभ्याइ छ।

क्षति पुगेका घरभन्दा साढे २ लाख बढी टेन्ट तथा पाल वितरण भइसकेको छ। अझै २ लाखले टेन्ट तथा पाल पाइएन भन्दै माग गरिरहेका छन्। कहाँ गए त त्यत्रो संख्याका टेन्ट र पाल?
‘धेरै जिल्लामा टेन्ट तथा पाल पुगेको छ। केही ठाउँ छुटेका हुन सक्छन्। हाम्रो तथ्यांकअनुसार अधिकांश भूकम्प पीडितले टेन्ट तथा पाल प्राप्त गरेका छन्,’ गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले भने, ‘एक द्वारबाट टेन्ट तथा पाल वितरण भएको भए यस्तो समस्या आउँदैनथ्यो।’

गृहले अधिकांश पीडितले टेन्ट तथा पाल पाइसकेको दाबी गरे पनि रेडक्रसको तथ्यांकमा भने अझै ओत लाग्ने टेन्ट तथा पाल नपाउनेको संख्या २ लाख छ। ‘विभिन्न गाविस तथा वडामा पुगेका हाम्रा साथीहरुले यो डाटा संकलन गरेका हुन्,’ पौडेलले भने।
रेडक्रसका अनुसार अहिले सबैभन्दा ठूलो टेन्ट तथा पाल नपाउने संख्या रामेछापमा छ। रामेछापबाट ६२ हजारले रेडक्रससँग टेन्ट तथा पाल मागिरहेका छन्। दोस्रो ठूलो माग गोर्खाबाट ४० हजारको छ। काभ्रेबाट ३ हजार, नुवाकोटबाट ५ हजार, दोलखाबाट ७ हजार ५ सय, रसुवाबाट ८ हजार, लमजुङबाट १० हजार, सिन्धुपाल्चोकबाट १० हजारले टेन्ट तथा पाल नपाएको भन्दै उपलब्ध गराइदिन रेडक्रसलाई भनेका छन्। यीलगायत भूकम्प प्रभावित ५७ जिल्लाबाट रेडक्रससँग टेन्ट तथा पालको माग भएको छ जुन सबै जोड्दा २ लाख पुग्छ।

गृहले कहाँबाट कति टेन्ट तथा पाल आयो, कस–कसले वितरण गरे भन्ने रेकर्डसमेत राखेको छैन। गौतमले ९ लाख ४ सय ३६ टेन्ट पालमध्ये विभिन्न १५ देशबाट प्राप्त ३ लाख ९ हजार ४ सय, रेडक्रसले वितरण गरेको ७९ हजार ५ सय ३८, स्थानीय विकास मन्त्रालयले वितरण गरेको १ लाख २२ हजार ३ सय ३१, सहरी विकास मन्त्रालयबाट वितरित १ लाख २८ हजार ७ सय ३ र युएनएचसिएचआरबाट वितरित २० हजार ५ सय २७ वटा टेन्ट तथा त्रिपाल जोडेर तथ्यांक पेस गरेका थिए।
यी सबै जोड्दा ६ लाख ६० हजार ४ सय ७९ मात्र पुग्छ। गृहले दाबी गरेअनुसार बाँकी २ लाख ३९ हजार ९ सय ५७ टेन्ट तथा पाल कहाँबाट आयो? पत्तो छैन। नागरिकबाट


  •  
  •  
  •