प्रहरीलाई साढे ३ लाख घुस दिन खोज्ने पक्राउ

108
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख(ओएनएस) : प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने दिल्ली–काठमाडांै रुट भएर चल्ने टुरिष्ट बसका चालकसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई घुस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

झण्डै ५५ लाख ८८ हजार लत्ताकपडा अवैध रुपमा नेपाल भित्र्याँउदै गर्दा उनीहरुलाई प्रहरीले गएको चैत्र ३० गते साँझ काठमाडौंको चमतीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिएका छन् ।

बसमा लुकाएर राखेको अवैध लत्ता कपडा छुटाउन प्रहरीलाई घुस दिन सर्लाहीका चालक विश्वकर्माले ल्याएको ३ लाख रुपैयाँ पनि बरामद गरिएको छ । चालक विश्वकर्मालाई सो काममा सहयोग गर्ने तामाङसँग रहेको ५० हजार नगद पनि बरामद गरिएको परिसर प्रमुख लामाले बताए ।

प्रहरीले भारतबाट अवैध लत्ता कपडा नेपाल भित्रँदैछ भन्ने सूचनाको आधारमा टुरिष्ट बसमा खनतलासी गरेको थियो । उनीहरुको साथबाट थप १ लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •