अखेटोपहारसहित पाँच जना पक्राउ

353
  •  
  •  
  •  

काठमाडौं, २८ चैत(ओएनएस) : वन्यजन्तुको अखेटोपहारसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हात्तीको दाह्रा र कस्तुरीको बिनासहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाँउपालिका– १० का २५ वर्षीय विकास तामाङ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ३ का ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोटको ककनी गाँउपालिका– ६ का ३८ वर्षीय राजकुमार लामा, खोटाङ बाह्रपोखरी गाउँपालिका– ४ का ३१ वर्षीय फर्सुराम राई र बाग्लुङको ढोरपाटन नगरपालिका–९ घर भई काठमाडौं गोकर्णेश्वर बस्दै आएका ४० वर्षीय खीमबहादुर घर्ती मगर छन् ।

सिआइबीले संरक्षित वन्यजन्तुहरूको आखेटोपहारहरू अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । खीमबहादुरलाई गोंगबुस्थित बसपार्कबाट कस्तुरीको बिनासहित प्रहरीले पक्राउ गरेको हो भने बाँकी चार जनालाई हात्तीको दाह्रासहित सामाखुसीबाट पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका चारै जनालाई कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उनीहरूलाई पाँच लाख रुपैँयादेखि दश लाख रुपैँयासम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ ।


  •  
  •  
  •