चाचन र महर्जन हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ

710
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ (ओएनएस) : चाचन र महर्जन हत्याकाण्डका मुख्य अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।

काठमाण्डौंको गणबहालमा रहेको एभी इन्टरप्राइजेजका सञ्चालक भारत राजस्थानका  अञ्जनी चाचनको  र टेकुमा रहेको एक्साइड ब्याट्री शो रुमका  प्रेमकृष्ण महर्जनलाई २०६७ चैतमा  गोली हानी हत्या गरेको अभियोगमा पक्राउ गरि प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चाचन र महर्जन हत्याकाण्डका मुख्य अभियुक्त मानिएका काठमाण्डौं भिमसेनगोलाका नीरज केसी र टेबहालका सुनिल महर्जन रहेका छन् । महर्जनलाई भदौ १४ गते काठमाण्डौंको नक्सालबाट र केसीलाई भदौ २५ गते धरान–१४ विजयपुरबाट पक्राउ गरेको महानगरीय प्रहरी प्रमुख एसएसपी पुष्कर कार्कीले जानकारी  दिए ।

केसी र महर्जन ठमेलमा भिक्षु निमा लामालाई गोली हानी १० लाख रुपैयाँ लुटेको, बाफलमा खुकुरी देखाएर एक व्यक्तिबाट पाँच लाख रुपैयाँ लुटेको लगायतका घटनामा संलग्न रहेको एसएसपी कार्कीले जानकारी दिए । यो समूहमा रहेका राजु डंगोल र अशोक गोले केन्द्रीय कारागारमा छन् ।

एसएसपी कार्कीले अब आफूले पुराना फाइलहरु हेर्दै जघन्य अपराधका अभियुक्तलाई खोज्न थालेको बताए ।


  •  
  •  
  •