गाउँपालिकाका अध्यक्षमाथि हातपात गरेको आरोपमा चार जना पक्राउ

291
  •  
  •  
  •  

बैतडी, २० चैत (ओएनएस) : बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् ।

उनीहरुलाई मंगलबार राति हातपात भएको ठाउँ नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले जानकारी दिएका छन् ।

मंगलबार रोडीदेवलदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किदै गर्दा पाँच÷छ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताएका थिए ।

सडकको विषयमा विवाद हुँदा अध्यक्ष चन्दमाथि हातपात भएको बताइएको छ । अध्यक्ष चन्दले भने सडकका विषयमा कुनै विवाद नरहेको बताएका छन् ।

अध्यक्षसँगै रहेका वडाध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममा बीच जंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको बताइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको र घटनाका विषयमा आज दुवै पक्षबीच छलफल हुने बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।


  •  
  •  
  •