सप्तरीमा प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर

69
  •  
  •  
  •  

काठमाडौं । सप्तरीमा प्रहरी र तस्करबीच झडप हुँदा दुई प्रहरी घाइते भएका छन्।  मंगलबार राति १० बजे राजविराज नगरपालिका–१३ मुसहर्नियाँममा झडप भएको हो ।

भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर ल्याउँदा उनीहरूलाई प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरूले स्थानीयलाई गुहारेका थिए। ६०/७० जना स्थानीय भेला भएर घरेलु हतियारसहित प्रहरीमाथि जाइलागेका थिए । आफ्नो सुरक्षाको लागि प्रहरीले चार राउन्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली खटिएको थियो। घाइते हुनेमा प्रहरी जवान दिपेन्द्र साह र प्रहरी हवल्दार कमलदेव यादव छन्। उनीहरू दुबै जनाको टाउकोमा चोट लागेको छ। साहको भने टाउकोमा सातवटा टाका लगाइएको छ।

तस्करहरूले के सामान ल्याएका थिए भन्ने खुल्न नपाउँदै झडप भएको प्रहरीले जनाएको छ । घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।


  •  
  •  
  •