वीरगञ्जमा लोकसेवाको फर्जी परीक्षा सञ्चालन, पक्राउ परे नक्‍कली इन्स्पेक्टर

102
  •  
  •  
  •  

काठमाडौं । प्रहरीको नक्कली लोक सेवा परीक्षा सञ्चालन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका अजयकुमार राय रहेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोलका २९ वर्षीय राय प्रहरी निरीक्षकको पोसाकमै पक्राउ परेका छन् ।

उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र दुई थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।

बुधबार वीरगञ्ज–१६ मा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवाको परीक्षा सञ्चालन भइरहेका बेला उनलाई प्रहरीले पक्रेको हो । परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीसहित प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का हिरालाल महतो, वसन्त चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–१६ का रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५ का शिवनारायण चौरसिया र वीरगञ्ज–२७ रानीघाटका रामजी चौरसियालाई पक्राउ गरेको छ ।

राय नक्कली लोकसेवा आयोगको परीक्षा लिने मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।

विगत ९ महिनादेखि प्रहरी चौकी परवानीपुर र ईलाका प्रहरी कार्यालय नगवामा आफूलाई प्रहरी निरीक्षक हुँ भनेर परिचय समेत दिँदै हिँडेको राय जिल्ला प्रहरी कार्यालय बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ सय १० दिन बीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिसकेका व्याक्ति हुन्।


  •  
  •  
  •