नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा पक्राउ

207
  •  
  •  
  •  

काठमाडौं । नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत सोही जिल्लाका पाख्रिबास नगरपालिका ५ का २८ वर्षीय दिवाकर देउजा रहेका छन् ।
उनको साथबाट ल्यापटप २ थान, मोबाईल २ थान बरामद समेत गरिएको प्रहरीले जनाएको छ ।

नेपाल टेलिकमको उजुरीको आधारमा उनलाई असार ३१ गते धनकुटाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआएबी) काठमाडौंले जनाएको छ ।

उनले नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्रीसमेत गर्ने गरेको उजुरी परेपछि ब्युरोको टोलीले अनुसन्धान सुरु गरेको थियो। गत असार १२ गते नेपाल टेलीकमले ब्युरोमा आफ्नो सर्भर ह्याक भएको भन्दै उजुरी दिएको थियो।

देउजाले इन्टरनेटको माध्यमबाट टेलिकमको सर्भर प्रणालीमा पटक-पटक ह्याक गरेको अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिएको हो। उनलाई विद्युतिय कारोवार ऐन २०६३ वमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउनको लागि काठमाडौँ ल्याइएको छ ।


  •  
  •  
  •