डब्लूएचओमा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

68
  •  
  •  
  •  

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)मा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नवलपरासीको सुस्ताका ३४ वर्षीय विजय पाण्डेलाई पक्राउ गरेको हो ।

महाशाखाले जागिर लगाइदिने बहानामा पाण्डेले पैसा लिने, नक्कली कागजपत्र दिने अनि फरार हुने गरेको दावी गरेको छ।

पछिल्लो पटक पाण्डेले चितवनकी अस्मिता अधिकारीलाई डब्लूएचओको ललितपुर कार्यालयमा जागिर खुलेको भन्दै लकडाउनकै अवधिमा विभिन्न समयमा एक लाख ८२ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाण्डेले आफूलाई डब्लूएचओको जागिरे भएको बताउँदै आएका थिए।

अधिकारीसँग उनको एक वर्षदेखि चिनजान भएको र जागिर खुलेको समयमा खबर गर्छु भन्दै पाण्डेले उनको फोन नम्बर लिएका थिए। पाण्डेले चितवनका निशानबाबु घिमिरेलाई पनि डब्लूएचओमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ लिएको तर जागिर भने लगाउन नसकेको प्रहरीको दावी छ।

नवलपरासीका दिपक खनाल, धन बहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरुङलगायत दर्जन बढीसँग पाण्डेले डब्लूएचओमा जागिर लगाई दिन्छु भनेर पैसा लिएको प्रहरीले जनाएको छ।


  •  
  •  
  •