हवाई फायर गरी विप्लवका पाँच कार्यकर्ता पक्राउ, विस्फोटक पदार्थ बरामद

85
  •  
  •  
  •  

खाँदबारी । प्रहरीले हवाई फायर गरी नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट पक्राउ गरेको छ ।

सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

शङ्कास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो ।

उनीहरुको साथबाट रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ । पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन ।
यही फागुन २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •