कर्तव्य ज्यान मुद्दामा फरार व्यक्ति १७ वर्षपछि पक्राउ

63
  •  
  •  
  •  

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार एक व्यक्तिलाई १७ वर्षपछि पक्राउ गरेको छ । चितवन राप्ति नगरपालिका–७ बस्ने नुवाकोट ककनी गाउँपालिका–५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटना गराएको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका–७ भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो ।

२०५९ पुस २१ गते नुवाकोट साविक ककनी गाविस–७ सिम्ले हाल ककनी गाउँपालिका–५ बस्ने ७० वर्षीया पदमकुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो ।

पुस २० गते राति छिमेकीको छोराको छेवरमा गएकी ती महिलालाई छेवर सकिएपछि नाचगानको कार्यक्रममा विवाद हुँदा घर फर्कने क्रममा सुनारले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।

सुनारलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।


  •  
  •  
  •