झण्डै १८ करोड हिनामिनाको आरोपमा बैंकका म्यानेजर पक्राउ

201
  •  
  •  
  •  

दाङ । झण्डै १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंकका म्यानेजर पक्राउ परेका छन् । दाङको नारायणपुरमा रहेको देवः विकास बैंकका म्यानेजर समिर बुढाथोकीलाई दाङ प्रहरीले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका १५ भरतपुर निबासी २९ वर्षीय बुढाथोकीलाई देवः विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अनियमितता गरेको उजुरी परेको थियो । घोराही उपमहानगर १० नारायणपुरमा रहेको शाखाबाट कर्जा स्वीकृति नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई आरोप छ ।

वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देवः विकास बैंकसँग गाभिएको थियो । बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए । बिगत डेढ वर्ष देखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन् ।

बुढाथोकीले ३५ जना नक्कली ऋणि खडा गरी आफूलाई फाइदा हुने गरी र बैंकलाई नोक्सान हुने गरि पैसा हिनामिना गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङले बैंकिङ कसुर तथा सजाँय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।


  •  
  •  
  •