तिब्बतीयनलाई नागरिकता दिएको आरोपमा वडाअध्यक्ष पक्राउ

321
  •  
  •  
  •  

पोखरा । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

कास्की प्रहरीले शुक्रबार वडाअध्यक्ष थापा सहित वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरेको हो ।

यसअघि साउन २५ गते ८ जना पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । उनीहरुमाथि अनुसन्धानपछि प्रहरीले वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको हो ।

पोखरा १८ सरांकोटका लेखबहादुर थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाउन यिनीहरुले सहयोग गरेको प्रहरीको आरोप छ ।

तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीहरुलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप लेखबहादुरमाथि छ । लेखबहादुरका नातिनीहरु सरु र तासीआङ्मोले कास्की प्रशासनबाट जेठ २६ र असार ६ गते क्रमशः नागरिकता लिएका थिए ।

लेखबहादुरकै छोरीहरु हुन् भन्ने आधिकारिक कागजमा दस्तखत गरेका स्थानीय बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापा मगर, कमल थापा र इमा थापामगर समेत पक्राउ परेका थिए ।

लेखबहादुरले छोरी दाबी गरेकाहरु छोरी नभएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो । नागरिकता लिन पेस गरिएका सबै कागजातमा युवतीहरुका बाबुको नाममा लेखबहादुर थापाको नाम उल्लेख छ ।


  •  
  •  
  •