पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’मा राख्न नेपाली पाँच क्रिकेटर सिफारिस

76
  •  
  •  
  •  

काठमाडौं । सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा नाम समावेश गर्न नेपालका पाँच क्रिकेटर सिफारिस भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललितनारायण राजवंशी, ब्याट्सम्यान मोहमद आरिफ शेख र विकेटिकपर ब्याट्सम्यान विनोद भण्डारीको नाम सिफारिस गरेको हो ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार खेलाडीहरुको नाम पिएसएलको ड्राफ्टमा सामवेश गर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अनुरोध गर्दै पत्र पठाइएको थियो ।
आइसिसीले पाँचै जनाको नाम पाकिस्तान क्रिकेट बोर्डलाई पठाएको छ ।

आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने तय पिएसएलको खेलाडी छनोटका लागि नोभेम्बरको अन्त्यमा ’ड्राफ्ट’ हुनेछ । ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन् ।

पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ ।

ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ ।


  •  
  •  
  •