पाकिस्तानको आमचुनावमा मतदान जारी, मोबाइल फोन सेवा बन्द

83
  •  
  •  
  •  

एजेन्सी । पाकिस्तानको आम निर्वाचनमा मतदान सुरु भएको छ । मतदानका लागि सर्वसाधारण मतदान केन्द्र तर्फ जान थालेका छन् । सरकारले सुरक्षाको कारण देखाउदै मोबाइल सेवाकोे नेटवर्क बन्द गराएको छ ।

त्यहाँको गृहमन्त्रालयले पछिल्ला आतंकवादी घटनाहरुका कारण टेलिफोन सेवा बन्द गरिएको जनाएको छ । पूर्व प्रधानमन्त्री इमरान खानलाई अविश्वासबाट पदच्यूत गरेको झण्डै दुई वर्षपछि आज त्यहाँ निर्वाचन भएको हो ।

निर्वाचनका लागि देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र तोकिएका छन् । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको बीबीसीले जनाएको छ ।

पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलावाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीले उम्मेद्वार खडा गरेका छन् ।

जेलमा रहेका इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिन्ह खारेज भएकाले यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावी प्रतिस्पर्धामा छन् । पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् । यसअघि २०१८ मा भएको आम चुनावमा ५२ प्रतिशत नागरिकले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । राष्ट्रिय सभाका सदस्य नागरिकले चुन्ने व्यवस्था छ । राष्ट्रिय सभामा कुल ३ सय ३६ सिटमध्ये २ सय ६६ सिटका लागि नागरिकले मतदान गर्न लागेका हुन् ।


  •  
  •  
  •