फरार कैदीबन्दी पक्राउ, तीन प्रहरी निलम्बन

89
  •  
  •  
  •  

डोटी । जिल्ला बालसुधार गृह डोटीबाट फरार एक जना पहरीले पक्राउ परेका छन् । बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि उनलाई जिल्ला बाल सुधार गृह डोटीमा राखिएको थियो । बिहीबार राति करिब ११ बजे फरार भएका बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँको जङ्गलबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनले बिहीबार राति करिब ११ बजेको समयमा अस्पतालको शौचालयको भेन्टिलेसन फुटाएर फरार भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आइसोलेसनबाट हत्या अभियोगी बोहरा फरार भएपछि उनको सुरक्षाका लागि त्यहाँ खटिएका तीना जना प्रहरीलाई निलम्बन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्या अभियोगी बोहराको सुरक्षामा अस्पतालको आइसोलेसनमा खटिएका सबै प्रहरी कर्मचारीलाई निलम्बन गरिएको बताए ।


  •  
  •  
  •