नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

116
  •  
  •  
  •  

काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख सूर्यनाथ मण्डल धानुकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित उनका छोरा सन्त कुमार मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डीपीआर कार्य सम्पन्न गरेको कामको भुक्तानी दिनका लागि सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घूस लिएको अभियोगमा आयोगले सन्तलाई गत असार ३१ मा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा सूर्यनाथले छोरा सन्तसँग मिलेमतो गरी डीपीआर निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीका लागि सेवाग्राहीलाई दुःख दिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए। उनीहरुले सेवाग्राहीले नियम अनुसार पाउनुपर्ने भुक्तानीको चेक समेत नियन्त्रणमा राखी दुख दिने गरेको आयोगको ठहर छ ।

आयोगले उनीहरु विरुद्ध एक लाख देखि पाँच लाख रुपैयाँसम्म जरिवाना र ६ महिनादेखि डेढ वर्षसम्म कैद सजाय गर्न विशेष अदालतमा मागदावी गरेको छ ।

यसैबीच घुसलिएको आरोपमा सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित पाँच जना पक्राउ परेका छन् ।

यादवसमेतले सेवाग्राहीसँग सत्र हजार रुपैयाँ घुस/रिसवत लिएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरुसँग उक्त रकम फेला परेको थियो ।

पक्राउ पर्नेमा सहायक वन अधिकृत शिवनारायण यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउत रहेका छन् । उनीहरलाई आयोगको कार्यालय इटहरीमा राखिएको छ ।


  •  
  •  
  •