होटल सञ्चालकलाई सार्वजनिक अपराध मुद्दा

296
  •  
  •  
  •  

लहान, ७ चैत (ओएनएस) : होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा सिराहाको मिर्चैयास्थित एक होटल सञ्चालक पक्राउ परेका छन् ।

होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो ।

होटलभित्र अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।

गत सोमबार राति काठमाडौंबाट आएका दुई युवक उक्त होटलमा कोठा भाडा लिएर बास बसेको र बिहान पैसा तीर्ने विषयमा होटल सञ्चालक र युवाबीच झगडा भएको थियो ।

सो क्रममा एक युवक होटलको तेस्रो तलाबाट स्थानीय शम्भु साहको घरको छतमा हामफालेपछि युवकको खुट्टा भाँच्चिएपश्चात यस्तो रहस्य बाहिर आएको स्थानीयवासीले बताएका छन् ।

होटल सञ्चालक सञ्जय ठाकुर र ललिताविरुद्ध सार्वजनिक मुद्दा दायर गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले बताए ।


  •  
  •  
  •