समुन्द्रमै बिलायो युरोप सपना

171
  •  
  •  
  •  

काठमाडौं १२ पुस ।

के छ भाइ, तेरो खबर?’ घरैनिर बस्ने एक जना चिनेजानेका दाइले उनलाई एक बिहानको भेटमा सोधेका थिए।
‘ठिकै छ, बाँचिएको छ,’ उनले हात मिलाउँदै सोधे, ‘तपाईंको के छ? जापान जान लागेको सुन्या थिएँ, के भयो?’
‘जापान होइन, अब युरोप जाने!’ प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए।
तिनको जवाफमा यस्तो रवाफ झल्कन्थ्यो, मानौं, केही दिनमै जिन्दगीको धोको पूरा हुँदैछ।
‘युरोप?’
‘हो। बसी–बसी घरमै भिसा आइपुग्छ,’ उनले यसरी सुनाए, युरोप जाने भिसा कुनै महत्वको कागजै होइन। अति सस्तो, ज्यादै सजिलो।

सिन्धुपाल्चोक घर भई कोटेश्वर, जडीबुटी बस्ने २९ वर्षीय लोकबहादुर भण्डारी ती छिमेकी दाइका कुरा सुनेर चकित परे। उनलाई दिउँसै युरोपको सपना देख्न एकछिन पनि लागेन।
के थाहा उनलाई, बसी–बसी घरमै युरोपको भिसा झार्ने धक्कु लाउने ती दाइ त मानवतस्करीका खुंखार दलाल हुन्।
लोकबहादुरले रोमाञ्चित हुँदै भने, ‘त्यसो भए भाइहरूलाई नि सम्भि्कनू न, के हामी पराइ हौं र?’
ती दाइले जवाफ दिइहाले, ‘जाने हो र? ल त्यसो भए ११–१२ लाख जति लाग्छ, भिसा लाउन इन्डिया जानुपर्छ।’
लोकबहादुरले केही नसोची ‘हुन्छ’ भनिदिए र भारत जाने तयारीमा जुट्न थाले।
त्यसो त विदेश जाने उनको रहरभन्दा बढी बाध्यता थियो। खासामा व्यापारको सपना बुन्नुअघि पनि उनले विदेश जाने सपना नदेखेका होइनन्। कसैगरी राम्रो देश छिर्न पाए राम्रो कमाइ हुन्थ्यो भन्ने सोच्दासोच्दै खासा पुगे, व्यापारी भएर। खासामा ‘क्यारिङ’ को काम थाले, लोकबहादुरले। जसोतसो राम्रो हुँदै थियो। अचानक उनको व्यापारमा वज्रपात भयो। चिनियाँ पार्टनर साथी पैसा खाएर टाप कसे। चिनियाँलाई १५ लाख रुपैयाँ बुझाएर उनी जसोतसो उम्केर नेपाल फर्के। अब त एकदिन पनि स्वदेशमा बस्न मन थिएन उनलाई। डुबेको पैसा उकास्न पनि विदेश नगइनहुने भूत सवार भइसकेको थियो।
तिब्बत, खासामा बसेर व्यापार गर्दा साझेदार साथीले ठगेको १५ लाख त ‘युँ कमाइनेछ, युरोप छिरेपछि!’ भण्डारीको मन सिमलको भुवाझैं कल्पनामा उडिरहेको थियो। युरोपको सपनामा उनले यसअघिका पीडा र आर्थिक नोक्सानी सबै भुलिसकेका थिए।
अबको एक सातामै उनी युरोप यात्रामा निस्कँदै थिए।

Refugee2

१६ साउन, २०७०

लोकबहादुर ती दाइका साथीको पछि लागेर भारत, नयाँदिल्ली पुगे। सँगै दिल्ली पुगेका थिए, सिन्धुपाल्चोकका कमल प्याकुरेल पनि, युरोप जाने सपना बोकेर। पोखराका विनय श्रेष्ठ र कुमार हमाल पनि तिनै दाइको माध्यमबाट दिल्ली पुगेका रहेछन्। सुरुमा सबैलाई महिपालपुरस्थित एक होटलमा राखियो।
नेपालबाट उनीहरूलाई लिएर दिल्ली पुगेका दाइ अचानक सम्पर्कविहीन भए। उनैले जिम्मा लगाएका भारतीय दलालले जसोजसो भने, त्यसै गर्न बाध्य भए उनीहरू।
यतिबेलासम्म युरोपको सुन्दर सपना मात्र देखेका उनीहरूले अब अनेक हन्डर पाउन थाले। आज–आज, भोलि–भोलि भनेर लगभग एक महिना झुलाइयो। बस्ने–खाने कुनै टुंगो थिएन। कहिले पहाडगन्जको कुनै होटलमा लगेर राखिन्थ्यो, फेरि महिपालपुरै फर्काइन्थ्यो।
‘बाहिर निस्कनुहुन्न, खतरा छ, त्यही भएर हामीले यी यो बोकेको’ भन्दै बन्दुक देखाउँथे। अब तिनै भारतीयको विश्वास गर्नुको विकल्प थिएन। नेपालमा फोन गरेर कहिले परिवार त कहिले साथीभाइसँग पैसा मगाउँथे र खर्चको जुगाड गर्थे। भिसा नलागुन्जेल सबै खर्च बेहोर्ने जिम्मा लिएका दलाल अहिले अनेक बहानामा असुल्दै थिए।
लोकबहादुरसँग ५ लाख नेपाली असुल्नुअघि उनको पासपोर्टमा इटालीको भिसा लागेको स्टिकर देखाइएको थियो। त्यसपछि पनि एक–दुई दिन भनेर उनीहरूलाई झुलाएरै राखियो।
डेढ महिना भारतमै बित्यो। अचानक ती दाइ सम्पर्कमा आए। उनले भने, ‘भाइ सरी, ती फटाहाहरूले तिमीलाई झुलाए, म बैंककमा छु। तिमी बैंकक आऊ, म यहाँबाट अस्ट्रेलिया पठाइदिन्छु।’
त्यति विश्वास लागेन तर पैसा फसिसकेको थियो। उनीहरूले ती दाइले भनेअनुसारै बैंकक जाने निधो गरे। रुट थियो– काठमाडौं–कलकत्ता–बैंकक।
चारै जना नेपाल फर्के, बैंकक जान। तिनै दाइका मान्छेले उनको पासपोर्टमा बैंककको भिसा लगाइदिए। उनी पुगे बैंकक।

नागरिकबाट


  •  
  •  
  •