कृत्रिम खुट्टाको आडमा आशालाग्दो जीवन

429
  •  
  •  
  •  

काठमाडौं १४ बैशाख ।

गत वैशाख १२ गतेको भुकम्प आउँदा सल्यान(७, सोलुखुम्बुका १५ वर्षिय सन्देश बस्नेत साथीहरुसँग विद्यालय प्राङ्गणको होस्टेलमा चेस खेल्दै थिए । एक्कासी उनलाई भुकम्पको धक्का महसुस भयो । साथीहरु कोही भागाभाग त कोही दौडादौड गर्दै थिए । उनीपनि साथीहरुको पछिपछि दौडदै थिए । ‘एक्कासी विद्यालय भवनको छतको गाह्रो खस्यो’, भुकम्पको स्मरण गर्दै उनले भने,‘छतको गाह्रो आएर म लगायत साथीहरुलाई पुर्‍यो ।’ ‘सुरुमा छत खसेर कुममा लागेको थाहा छ’, उनले भने ।

छतको गाह्रोले पुरिएर घाइते भएका उनलाई विद्यालयका शिक्षक लगायतले बनेपा स्थित शिर मेमोरियल अस्पताल त पुर्‍याए तर, उपचारमा भने सोचे जस्तो सफलता मिलेन ।

भुकम्पका कारण दुवै खुट्टा गुमाएका बस्नेतले अस्पताल पुर्‍याउँदाको अवस्थामा चिकित्सकहरुले अवस्था सामान्य बताइएपनि आफूले दुवै खुट्टा गुमाउनु परेको गुनासो गरे ।

शिर मेमोरियलबाट दुईदिनमा शिक्षण अस्पताल महाराजगञ्ज रिफर भएका सन्देशलाई दाहिने खुट्टा काटिएको दुई सातापछि मात्र थाहा भयो । ‘डाक्टरले ड्रेसिङ्ग गर्नलाई उठाउँदा मात्र थाहा भयो मेरो दाहिने खुट्टा काटिसकेको रहेछ’, उनले भने, ‘केहीदिनमै देब्रे खुट्टा काट्नु पर्‍यो ।’ दुई खुट्टा बिना करिब चार महिना बिताएका उनले कृत्रिम खुट्टाको साहरामा हिड्ने अभ्यासमा तीन महिना खर्चे । हाल उनी कृत्रिम खुट्टाको आडमा साधरण व्यक्ति जस्तै हिँड्न सक्छन् । उनलाई ह्याण्डी क्याप र नेपाल अपाङ्ग कोषले कृत्रिम खुट्टा उपलब्ध गराएका हुन् ।

बालाखा देखिको लेफ्टीनेन्ट (नेपाली सेना) बन्ने सपना बुनेका सन्देश भूकम्पले जीवनको मोड नै बदलिएको बताउँछन् । ‘खुट्टा बिना नेपाली सेना बनेर देशको सेवा गर्ने सपना त टुट्यो’, उनले भने, ‘तर, म निराश छैन्, अब मेरो पाइला म जस्तै शारीरिक रुपमा अशक्त भएकाहरुको सेवामा लम्किनेछ ।’

२०६२ चैत्र ८ गते माओवादी जनयुद्धको अन्तिम भिडन्तमा झापामा ज्यान गुमाउँदा प्रहरी सहायक निरिक्षक खेमकुमार बस्नेतका छोरा सन्देश ३ वर्षका थिए । बुबाको पर्याप्त माया नपाएका सन्देश आफन्तहरुले माओवादी जनयुद्ध र बुबाको अवस्था बारे बताउँदै जाँदा उनले पनि नेपाली सेना बनेर देशको सेवा गर्ने सपना बुनेका थिए । ‘भोगाई आफूले सोचेको जस्तो नहुँदो रहेछ’, उनले भने, ‘दुवै खुट्टा काटिँदा जीवन नै रित्तिए जस्तै सोचेको थिएं तर, होइन रहेछ ।’ ‘मान्छे परिस्थितीमा रमाउन सक्नुपर्दो रहेछ’, उनले भने ।

भूकम्पले उनीहरुको सोलुखुम्बुको घर ध्वस्त भएको छ । उनकी आमा पशुपति बस्नेत गृहणी हुन उनी भूकम्पले भत्काएको घर ठड्याउने प्रयासमा सोलुखुम्बुमै बस्दै आएकी छिन् । सन्देश नेपाल प्रहरी आवासीय विद्यालय साँगामा कक्षा ९ मा अध्ययनरत छन् । सन्देश आमा पशुपति, दिदिहरु सन्ध्या र सविनाका धडन नै हुन् । भूकम्पपछि भाईको अवस्था सम्झँदै पिच्छे आँखा रसाउने गरेको दिदी सन्ध्याले बताइन् । ‘अहिले भाईको अवस्था ठिकै छ’, उनले भनिन्, ‘तर, जब उनले कृत्रिम खुट्टा खोलेर भुइँमा राख्छ, म भक्कानिन्छु ।’ सन्देशलाई भने सबैकुरा सामान्य लाग्दै आएको छ । कान्तिपुरबाट 


  •  
  •  
  •