‘उपचार पाए मेरो छोरा बाँच्छ’

214
  •  
  •  
  •  

काठमाडौं ३० चैत ।
छेस्कान-३, सोलुखुम्बुका १७ वर्षीय विपेन्द्र राई यस वर्षको एसएलसी परिक्षाबाट बञ्चित हुन पुगे । एसएलसीको दिन नजिकिँदै गर्दा उनलाई नाक बन्द हुने समस्या देखिन थाल्यो । दिनप्रति दिन झन गाह्रो हुँदै गयो । टिचिङ्ग अस्पताल पुगे । अस्पतालले भक्तपुर क्यान्सर अस्पताल रिफर गरी दियो । क्यान्सर अस्पतालका चिकित्सकले उनलाई लिम्फोमा भन्ने एक किसिमको क्यान्सर भएको रिपोर्ट दिए ।

अर्काको घरमा ज्याला मजदुरी गर्दै दुई छोरा पढाउँदै आएकी आम्रोमाया राईको थाप्लोमा अर्को बाध्यता थपियो । जुन आफ्नो बलबुत्ताले भ्याउँदैन । एसएलसी परिक्षाको तयारीमा रहेका छोरालाई क्यान्सर भएपछि उनी आँत्तिएकी छिन् । ‘एसएलसी दिने बेलाको छोरा अस्पतालमा बस्नुपर्‍यो’, उनले भनिन्, ‘दुई छाक टार्न ज्याला गर्दै आएकी थिएँ, त्यो पनि रोकियो ।’ अस्पतालमा छोराको कुरुवा बसेकी उनले रुँदै भनिन्, ‘छोराको उपचार कसले गरी दिन्छ ?।’

१५ वर्ष पहिले दाङ्गको कोइला खानीमा काम गर्न गएका श्रीमान् खानी मै पुरिएर निधन भएपछि गरिबीले छोपेकी आम्रोमायाको थाप्लोमा पुनः समस्या थपिएको छ । उनले दैनिक अर्काको घरमा भाँडा माझै गुजारा चलाउँदै आएकी छिन् । ‘काम गर्न गएका श्रीमानको मृत्यु भयो, छोराहरु सानै थिए’, उनले भनिन्,’दुःख गरेर पढाएं,एसएलसी दिने बेलामा छोराको यो अवस्था भयो, उपचार पाए मेरो छोरा बाँच्छ ।’ गत माघदेखि भक्तपुर क्यान्सर अस्पताल भर्ना भएका विपेन्द्रलाई क्यान्सरले छोएको र समयमा उपचार पाए निको हुने चिकित्सकले जनाएको छ । तर, आम्दानीको कुनै स्रोत नभएकोले छोराको उपचारमा सहयोग गर्न आम्राेमायाले सहयोगको अपिल गरेकी छिन् ।

तीन महिना देखि अस्पतालमा उपचार गराउँदै आएका विपेन्द्रको उपचारमा एक लाख भन्दा बढी खर्च भईसकेको र बाँकी उपचारको लागि कुनै स्रोत नभएको उपचारमा सहयोग गर्न उनकी आमाले सहयोग मागेकी छिन् । ‘एक लाख भन्दा बढी सकिसक्यो’, उनले भनिन्,’पुरा उपचार हुनलाई कम्तीमा ५ लाख भन्दा बढी लाग्ने डाक्टरले बताएको छ ।’ कुमारीगाल-७, काठमाडौंमा बस्दै आएका उनीहरु आम्दानीको कुनै स्रोत नभएकाले चिकित्सकले समेत सहयोग गरीदिन अनुरोध गरेका छन् । ‘विपेन्द्रलाई लागेको क्यान्सर निको हुने खालको क्यान्सर हो’, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.प्रकाशराज न्यौपानेले भने,’समयमै उपचार गरे निको हुन्छ ।’

विपेन्द्रको दुईपल्ट किमोथेरापी गरी सकेको र प्रत्येक तीन हप्तामा एक पल्ट किमोथेरापी गराउनु पर्ने न्यौपानेले बताए । किमोथेरापी थालिसकेपछि खर्च पनि धेरै लाग्ने अस्पतालले जनाएको छ । विपेन्द्रलाई सहयोग गराउन चाहनेहरुका लागि आम्रोमायाले अन्तराष्ट्रिय विकास बैंक बौद्ध शाखाको खाता नम्बर ०११००६३५ मा सहयोग गर्न अनुरोध गरेकी छिन् ।
कान्तिपुरबाट


  •  
  •  
  •