‘मेरो छोराको ज्यान गयो, मधेसले के पायो?’

53
  •  
  •  
  •  

काठमाडौं ५ भदौ ।
‘मधेस आन्दोलनबाट धेरै नेता जन्मिए, उनीहरू मन्त्री पनि भए तर मधेसी जनताले के पाए? ‘ २०६३ सालको मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोका बुबाको प्रश्न हो यो।

लहान बजारदेखि १८ किलोमिटर दक्षिण-पश्चिम सिरहाको फूलबरिया मझौरामा शुक्रबार अन्नपूर्णकर्मी पुग्दा घरमा ‘सहिद’ का बुवा रवि, आमा रानो र दाजु बालकृष्ण थिए। रविले निराश हुँदै भने, ‘सहिदको बलिदान खेर गयो। मेरो छोराको बलिदान केही मान्छेलाई मन्त्री, नेता र माननीय बनाउन मात्र थिएन।’
नौ वर्षअघिको मधेस आन्दोलन र छोरा रमेशका विषयमा कुरा सुरु गर्दा आमा रानो भक्कानिइन्। संविधानको विषयमा केही बताउन नजान्ने उनले भनिन्, ‘धेरै छोराका आमा यसरी नै रोइरहेका छन् । आँसु पुछ्ने नेता कोही भएनन्।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले अबको आन्दोलनमा सहिद हुनेका परिवारलाई ५० लाख नगद, नोकरी र शिक्षाको प्रबन्ध गर्ने घोषणा गरेको पनि रमेशका बाबुआमाले सुनेका छन्।

‘फोरमका अध्यक्ष उपेन्द्र यादवले घरमै आएर दिएको वचन त पूरा गरेनन्। अब के होला?’ रविले भने, ‘मधेसी जनताको अधिकार प्राप्तिका एउटा छोरा सहिद भयो, हामीजस्ता धेरै छोराले तपाईंलाई सहारा दिन्छौं भनेका थिए । खोइ, त्यसपछि कोही आएनन्।’

पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव तथा पूर्वमन्त्रीहरू राजेन्द्र महतो र महन्थ ठाकुरले बुधबार सार्वजनिक अपिलमार्फत मधेसी युवाहरूले आन्दोलनमा होमिएर ज्यान गुमाएको खण्डमा सहिद घोषणा गर्ने र उनीहरूका परिवारलाई प्रतिसहिद ५० लाख रुपैयाँ दिने घोषणा गरेपछि २०६३ मधेस आन्दोलनबाट प्रभावित परिवारबाट आक्रोशित भएका हुन्।

मधेस आन्दोलनका अर्का सहिद मोहम्मद अनिशकी आमा विल्तुन खातुन कति दिक्क छिन् भने उनी आन्दोलन र नेताका कुरा सुन्न पनि चाहन्नन्। ‘आन्दोलन गर्छन्, ठूल्ठूला कुरा गर्छन् । जनताका छोराछोरी मर्छन्, आफू मन्त्री बन्छन्’,उनले भनिन्, ‘त्यसपछि त छोरा गुमाउनेले उनीहरूलाई भेट्न पनि पाउँदैनौं । हाम्रो भोगाइ यस्तै छ।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •