राहत गोदाममै, भूकम्पपीडित सकसमा

98
  •  
  •  
  •  

काठमाडौं १ पुस ।
विनाशकारी भूकम्पले सिंगो गाउँमा पहिरो गएपछि बारपाक-५ कामीगाउँका ५२ परिवार विश्वकर्मा अहिले ४ नम्बर वडामा रहेको सार्वजनिक जग्गामा टहरो बनाएर बसेका छन्।

आठ महिना शिविरमै बिताएका उनीहरू दीर्घरोगबाट थलिन थालेका छन्। स्थानीय सुनिता विक भन्छिन्, ‘यहीं बसेपछि मलाई हाडजोर्नी दुख्ने रोगले भेट्यो।’ चिसोका कारण शिविरमा कसैलाई दम, कसैलाई पेट दुख्ने, कसैलाई आँखा दुख्ने, कसैलाई रगतमासी पर्नेलगायतका समस्याले सताइरहेको उनले सुनाइन्।

चिसो बढेर बस्ती रोगाउन थालेको अर्की स्थानीय सुनमाया विकले बताइन्। ‘हिमालको चिसो स्याँठ सीधै टाउकोमा पर्छ’, विकले भनिन्, ‘चिसोले जोर्नी दुखेर उठ्नबस्न नसक्ने भएकी छु। झन् बेलाबेला भुइँचालो गइरहन्छ। केटाकेटीलाई हातमा झुन्ड्याउँदै भीरभीर, कान्लाकान्ला हाम फाल्दाफाल्दै गरिखाने ज्यान बिग्रियो।’

सानो झुप्रोभित्र खाना बनाउन आगो फुक्दा शिविरका बालबालिका र वृद्धवृद्धालाई आँखा, छाती र घाँटीको समस्या देखिन थालेको उनले बताइन्। भूकम्पपीडितलाई सरकारले त वास्ता गरेन, जिल्लाले पनि वास्ता नगरेको स्थानीय उत्तम विकले बतए।’सरकारचाहिँ अहिले मधेस र भारततिर मात्रै केन्द्रित भएको छ,’ उनी भन्छन्, ‘केन्द्रले नहेरे पनि जिल्लाले त हाम्रो पीडा देख्नुपर्ने हो, देखेन।’

बारपाकमात्र होइन। यहाँभन्दा माथिका धेरै जाडो हुने र भूकम्पबाट बढी प्रभावित २४ गाविसको अवस्था निकै कष्टकर हुँदै गएको छ। तर न्यानोका लागि भनेर जिल्ला दैवी प्रकोप उद्धार समितिले संकलन गरेका राहत सामग्री तीन महिनादेखि सदरमुकामको गोदाममै थन्किएका छन्। थन्केका सामग्री कतिपय मिति नाघिसके, कतिपय मुसाले काटेर नष्ट गरिसक्यो।

न्यानोका सामग्री तत्काल पठाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले कात्तिक १९ गते निर्णय गरेको थियो। हिमाली र उच्च पहाडी भेगमा रहेका ती गाविसमा चिसो बढ्दै गएपछि पीडितहरूको जीवन कष्टपूर्ण बनेको छ तर निर्णय भएको एक महिना बितिसक्दासम्म पनि समितिले सामग्री पठाउन सकेको छैन।

नयाँ सरकार बनेपछि जाडोका लागि राहतस्वरूप दिने भनी निर्णय भएको १० हजार रुपैयाँ मंसिर मसान्तसम्म वितरण भइसक्नुपर्ने हो तर यो पनि कार्यान्वयन हुन सकेको छैन। दातृ निकायले पीडितका लागि गत भदौ र असोजमा न्यानोका सामग्री हस्तान्तरण गरेका थिए। तीन महिना भइसक्दा पनि यी सामान गोदाममै थन्किएका छन्।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •