‘छोरीलाई सेकेर बचाउन खोजें तर सकिनँ’

125
  •  
  •  
  •  

काठमाडौं १४ पुस ।
ठोकर्पा गाविस ३ जामुनेका सोमबहादुर पहरीले सोमबार बिहानमात्र १३ महिने छोरी राममाया पहरीको सद्गत गरे। जस्ताको टहरोमा चिसोले कठ्यांग्रिएर आइतबार साँझ छोरी बितेपछि सोमबहादुर भावविह्वल छन्।

आफ्नो मुटुको टुक्रालाई कुनै रोग नै नलागी चिसो थेग्न नसकेकै कारण गुमाउनु पर्दाको पीडा सोमबहादुर र उनको परिवारले भोगिरहेको छ। उनले दिनभर सामान्य अवस्थामा रहेकी छोरीले साँझमा बिस्तारै जाडोले काम्दै दूध चुस्न छाडेपछि निलो हुँदै हातखुट्टा चलाउन छाडेर ज्यान गुमाएको भक्कानिँदै सुनाए।

१८ वर्षीया विनिता पहरीले पनि मंसिर ९ गते साँझ आफ्नो पहिलो सन्तानका रूपमा जन्मेकी छोरी गुमाउनुपर्‍यो। तीन दिनअघि जन्मिएकी छोरी चिसोले कठ्यांग्रिएरै बितेको विनिताले बताइन्। ‘साँझ पर्दै गएपछि जाडोले काम्न थालेकी छोरीले बिस्तारै दूध चुस्न छाडी अनि हातखुट्टा कक्रिएपछि निली हुँदै गई’, विनिताले भनिन्, ‘जाडो भएको भन्दै आगोले सेकेर तातो बनाउने प्रयास गरें तर छोरीलाई बचाउन सकिनँ।’

जति सेक्दा पनि जिउ नतातेको र पछि बान्ता गर्न थालेपछि आफ्नै काखमा छोरीको प्राण गएको उनले बताइन्।जस्ताको टहरोमा पर्याप्त कपडा नभएकै कारण छोरीलाई गुमाउनु परेको विनिताको भनाइ छ। ‘शरीर ढाक्ने कपडा नभएपछि जस्ताको टहरोमा आउने चिसो हावा र शीत थेग्न आगोमात्र पर्याप्त नहुने रहेछ’, विनिताले भनिन्, ‘आगोले सेकेरै छोरी बचाउन गरेको प्रयास बेकार भयो।’
सिन्धुपाल्‍चोकमा चिसोले पहरी समुदायका मात्र ८ भूकम्‍पपीडितको मृत्‍यु भएको छ।

छोरी बितेसँगै आफ्नो परबाह गर्न छाडेकी विनिताको पनि शरीर सुन्निन थालेको छ। निरन्तर खोकिरहन्छिन् तर चिसोबाट बच्ने कुनै उपाय अपनाएकी छैनन्। बाँसले बेरी जस्ताको छानो हालेर बनाएको टहरोले हिमाली सिरेटो रोक्न सक्दैन। ‘घरमा भएको ओढ्नेले राति जस्ताबाट आउने शीत थेग्न सक्दैन’, विनिता भन्छिन्, ‘रातभर आगो तापेरमात्र बस्न पनि नसकिने रहेछ।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •