छोरालाई नागरिकता दिलाउन पतिसँग सम्बन्ध बिच्छेद

90
  •  
  •  
  •  

काठमाडौं ५ चैत ।  मकवानपुरकी एक महिलाले छोरालाई नागरिकता दिलाउन पतिसँग सम्बन्ध बिच्छेद गर्नुपरेको छ। हेटौंडा–९ की इन्दुकुमारी थापाले छोरा लक्की शर्मालाई नागरिकता दिलाउन पति रामलाल शर्मासँग सम्बन्ध बिच्छेद नै गर्नुपरेको छ।

‘छोराले एसएलसी दिएसँगै नागरिकता बनाउन भनेको भन्यै थियो, पाँच वर्षदेखि प्रयास गर्र्दा बल्ल बुधबार नागरिकता बन्यो, मेरो खुसीको सीमा नै छैन’ –छोराको नागरिकता बनेपछि थापाले भनिन्। यसका लागि अधिवक्ता ललिता श्रेष्ठले कानुनी सहयोग गरेकी थिइन्।

करिब ५८ वर्षीय रामलाल तत्कालीन सेन्थेटिक कपडा उद्योगमा काम गर्थे। काम गरिरहेको अवस्थामा दुर्घटनामा परेर उनले हात गुमाउनुपर्‍यो। उनकी पत्नी इन्दुकुमारी सोही उद्योगमा काम गर्थिन्। शारीरिक रूपमा अशक्त भएपछि पतिले जागिर छाड्नुपर्‍यो। रामलाल नेपाली नागरिक भए पनि उनको नागरिकता बनेको थिएन। छोरा लक्कीको नागरिकता बनाउनका लागि स्थानीय प्रशासनले बाबु र आमा दुवै नेपाली भएको प्रमाण माग गरेको थियो।

आमा इन्दुकुमारीको मात्र नागरिकता भएकाले प्रशासनले लक्कीलाई नागरिकता दिन मानेन। ‘कानुन र नजिरअनुसार त्यसो गर्नु जरुरी थिएन। अधिवक्ता श्रेष्ठले कानुनी प्रक्रिया पूरा गरी सम्बन्ध बिच्छेद गराएर करिब २३ वर्षीय लक्कीलाई नागरिकता प्रमाणपत्र प्राप्त गर्ने आधार तयार गरेको बताइन्। इन्दुकुमारीको मात्र सनाखतबाट लक्कीले बुधबार नागरिकता प्रमाणपत्र पाएका छन्।

कागजअनुसार सम्बन्ध बिच्छेद गरिए पनि रामलाललाई आश्रय दिन बाँचुन्जेल उनका लागि हेटौंडा–९ स्थित तीनकोठे घरको एउटा कोठा उपलब्ध गराइने सर्त राखिएको अधिवक्ता श्रेष्ठले बताइन्। उनीहरूको अचल सम्पत्ति सबै इन्दुकुमारीको नाममा छ। ‘उनीहरूबीच चाँडै नाता कायम हुनेछ’, अधिवक्ता श्रेष्ठले यसलाई नागरिकतासम्बन्धी मुद्दा मकवानपुर एक पाइला अगाडि बढेको टिप्पणी गरिन्।

बाबु वा आमामध्ये एक नेपाली नागरिक भए उनीहरूबाट जन्मिएका छोराछोरीलाई नागरिकता दिनुपर्ने व्यवस्था प्रचलित कानुन र नजिरमा देखिए पनि त्यस्तो हुन नसकेकोमा यति लामो कानुनी लडाइँ लड्न बाध्य हुनुपरेको गुनासो श्रेष्ठले गरिन्। नेपाल समाचारपत्रबाट


  •  
  •  
  •