‘कम्पनले कमजोर पहाडमा पहिरो’

67
  •  
  •  
  •  

काठमाडौं २९ जेठ ।

भूकम्पको कम्पनले कमजोर बनाएको पहाडमा अत्यधिक वर्षा भएपछि पहिरो गएको विज्ञहरुले औंल्याएका छन्। उनीहरुको अध्ययनमा विगतमा भीषण पहिरो गएका स्थानहरुमै पुनः पहिरो गएको हो।

पहिरोविज्ञ रञ्जन दाहालले भने, ‘यो पहिरो जानुका तीन कारण देखिन्छन्। अत्यधिक वर्षा, भूकम्पको धक्काले कमजोर भएको पहाड र पुराना भीषण पहिरो गएको स्थान।’ उनका अनुसार नेपालका पहाडमा २४ घन्टामा १४४ मिलिमिटर वर्षा भयो भने पहिरो जान सुरु हुन्छ। ‘यही मात्रामा पानी परेको हुनुपर्छ,’ दाहालले भने। उनले यो पहिरोले भुइँचालोले त्यहाँको पहाड पनि कमजोर बनायो भन्ने सन्देश दिएको बताए।
‘त्यसै पनि अहिले पहिरो गएको स्थानमा विगतमा ठूलो पहिरो गएका छन्। त्यही स्थानमा बस्तीहरु बसेका थिए,’ दाहालले भने, ‘यस्ता स्थान निकै जोखिमपूर्ण हुन्छन् भन्ने कुरा जान्दाजान्दै पनि त्यहाँ बस्ती बस्यो। धेरै मानवीय क्षति भयो।’ उनका अनुसार लिवाङ, खोक्लिङ लगायत ठाउँमा विगतमा पनि भीषण पहिरो गएका थिए।

दाहालले भूकम्पको केन्द्रबिन्दुबाट दुरीमा रहेको ताप्लेजुङका पहाडसमेत कमजोर भएको सन्देश आइरहेको उल्लेख गर्दै भने, ‘आगामी दिनमा भूकम्पका अति प्रभावित जिल्लामा यो रोग कति सर्ने हो, त्यो विचार गर्नुपर्योभ।’ दाहालले वर्षायाम सुरु भएपछि पहिरोको जोखिम धेरै हुने बताए।

यता, मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठ ताप्लेजुङमा बुधबार साँझ पौने छ बजेदेखि बिहीबार बिहान पौने नौ बजेसम्म १२९ मिलिमिटर वर्षा भएको बताउँछन्। ‘यो सबै पानी बुधबार रातिदेखि बिहीबार बिहानसम्म परेको देखिन्छ,’ उनले भने। श्रेष्ठका अनुसार भूउपग्रहबाट प्राप्त तस्बिर हेर्दा रातमा पनि सबैभन्दा बढी वर्षा दुई घन्टाभित्रमा भएको देखिन्छ। ‘राति दुई घन्टा अत्यधिक वर्षा भएपछि बादल पूर्वतिर सरेको देखिन्छ,’ उनले भने, ‘त्यहाँ छोटो अवधिमा अत्यधिक पानी परेको हो।’ ताप्लेजुङमा अहिलेसम्मकै सबैभन्दा धेरै पानी २०४७ मा परेको थियो। त्यतिबेलाको वर्षायाममा २४ घन्टामा १३४ दशमलव ७ मिलिमिटर वर्षा भएको थियो। ‘यो तथ्यांकले पनि हिजो राति त्यहाँ अत्यधिक वर्षा भएको देखिन्छ,’ श्रेष्ठले भने।

यता दाहाल भने पहिरो गएकै स्थानमा रेकर्ड गरिएको मात्राभन्दा बढी पानी परेको हुनसक्ने बताउँछन्। ‘पहिरो गएको स्थानमै वर्षाको पानी नाप्ने केन्द्र कहाँ हुन्छ र?’ उनले भने, ‘त्यहाँ धेरै पानी परेको हुुनुपर्छ।’
महाशाखाले समुद्री सतहबाट १७ सय ८० मिटर उचाइमा रहेको ताप्लेजुङको लुङथुङ भन्ने स्थानमा वर्षा मापन केन्द्र स्थापना गरेको छ। त्यहाँको केन्द्रले १२९ मिलिमिटर वर्षा रेकर्ड गरेको हो।

मौमसविद श्रेष्ठका अनुसार बंगालको खाडीबाट आएको जलवाष्फयुक्त बादल र स्थानीय प्रणालीका कारण अत्यधिक वर्षा भएको हो। ‘त्यसै पनि ताप्लेजुङमा तीनचार दिनदेखि हल्का पानी परिरहेको थियो। पूर्वबाट पानी पार्ने बादल नियमित आइरहेको थियो,’ उनले भने।
श्रेष्ठले बिहीबार दिउँसो पनि ताप्लेजुङ क्षेत्रको आकाश सफा नभएको जानकारी दिए। साँझसम्म पूर्वी नेपालको अधिकांश आकाश बादल लागेको देखिन्छ र राति थप पानी पर्ने सम्भावना छ,’ उनले भने। यस वर्षको मनसुन भने दुई दिनपछि सुरु हुने उनले जानकारी दिए।
बिहीबार मौसम प्रतिकूल भएपछि बिहान केहीबेर उद्धार कार्यसमेत प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख बाबुराम भण्डारीले मौसमका कारण समयमै उद्धार टोली पठाउन नसकिएको बताए।
‘पौने दस बजे काठमाडौंबाट हेलिकप्टर पठाएका थियौं। सिधै घटनास्थल जान नसकेर विराटनगर विमानस्थलमा गएर रोकियो। त्यहाँबाट झन्डै एघार बजे उड्यो,’ उनले भने।

भण्डारीले दोस्रो हेलिकप्टर पठाउने तयारी गरिए पनि मौसमका कारण जान नसकेको बताए। ‘पहिलो हेलिकप्टर पनि ठ्याक्कै घटनास्थलमा बस्न नसकेर अलि वर सशस्त्रको क्याम्पमा बसेर उद्धार कार्य सुरु गरेको थियो,’ उनले भने।
भण्डारीका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिसँग समन्वय गरेर उद्धार कार्य गरिएको छ। ‘हामीले राष्ट्रिय विपद प्रतिकार्य ढाँचा अनुसार काम गरिरहेका छौं,’ उनले भने।
नागरिकबाट


  •  
  •  
  •