‘डेब्रिज पहिरो’ को जोखिम

163
  •  
  •  
  •  

काठमाडौं २१ जेठ ।
भूकम्प र त्यसपछिका तीन सय बढी पराकम्पनको थर्काइका कारण कालीगण्डकीदेखि दुधकोसीसम्मको उच्च हिमाली भाग कमजोर बनेको भन्दै विशेषज्ञले धेरै स्थानमा ‘डेब्रिज पहिरो’ को सम्भावना रहेको औंल्याएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ‘विपत् अध्ययन केन्द्र’ र अमेरिकाका विश्वविद्यालयका अनुसन्धानकर्ता तथा भूगर्भ क्षेत्रका वैज्ञानिकहरूको अध्ययनले प्रभावित क्षेत्रको हिमालय क्षेत्रमा हिउँसहित ढुंगा, माटो, रूखबिरुवा, गेग्रानसहित खस्ने (डेब्रिज) पहिरोको जोखिम रहेको निष्कर्ष निकालेको हो ।

क्यालिफोर्निया युनिभर्सिटीमा अध्यापनरत नेपाली विशेषज्ञ प्रा.विनोद तिवारीलगायतको टोलीको स्थलगत र हेलिकप्टरबाट गरेको अध्ययनले भूकम्पलगत्तै लाङटाङमा आएकोजस्तै ‘डेब्रिज पहिरो’ को सम्भावना प्रभावित अन्य क्षेत्रमा पनि रहेको तथ्य सार्वजजिनक गरेको छ ।

‘कालीगण्डकी, मस्र्याङ्दी, बुढीगण्डकी, भोटेकोसी, तामाकोसी हुँदै दुधकोसीसम्मै डेब्रिज पहिरोको सम्भावना छ,’ कालीगण्डकी नदी क्षेत्रका बारेमा विद्यावारिधि गरेका इन्जिनियरिङ अध्ययन संस्थानका सह–प्राध्यापक डा.वसन्तराज अधिकारीले बुधवार कान्तिपुरलाई भने, ‘पोहोर जुरेमा गएकोजस्तै पहिरोको सम्भावना पनि बढी छ, हामी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्दै छौं ।’

भूकम्पलगत्तै लाङटाङमा हिमपहिरो आएर बस्ती नै सखाप भएको भनिए पनि क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ता/वैज्ञानिकले हिउँ मात्र नभई ढुंगा, माटो, रूख, बिरुवा, गेग्रान र हिउँसहितकै पहाड खसेको तथ्य सार्वजनिक गरेका छन् । सह–प्राध्यापक अधिकारीले हिमालय क्षेत्रमा कमजोर भू–भाग भएको र कम्पनका कारण थप कमजोर बनेकाले ठूला पहिरोको जोखिम अत्यधिक रहेको बताए ।

इन्जिनियरिङ अध्ययन संस्थानको ‘विपत् अध्ययन केन्द्र’ का वैज्ञानिक र भू–गर्भमा काम गर्ने विश्वभरका वैज्ञानिकहरूको छाता संगठन ‘जियोटेक्निकल एक्स्टि्रम इभेन्ट्स रिकन्नाइसेन्स्’ (गेर) ले संयुक्त रूपमा महाभूकम्पको केन्द्रविन्दु बारपाकदेखि सिन्धुपाल्चोकको कोदारीसम्मको राजमार्गसहित पहाडी क्षेत्रमा पहिरोको जोखिममा रहेका क्षेत्रको अध्ययन गरेको थियो । यसअघि चिनियाँ र जापानी विशेषज्ञको टोलीले समेत उच्च हिमाली क्षेत्रमा विभिन्नखाले पहिरोको जोखिम बढेको निष्कर्ष निकालेको थियो ।

अध्ययनमा सहभागी डा.अधिकारीले भूकम्पछि गोरखाको बारपाकदेखि कोदारीसम्मको पहाडी क्षेत्रका विभिन्न स्थानमा भीमकाय पहिरोको जोखिम रहेको उल्लेख गरे । ‘केही ठाउँमा ठूला पहाड र चट्टान नै चर्किएकाले ठूलो पहिरोको सम्भावना देखिन्छ,’ उनले भने, ‘कालीगण्डकीमा जस्तै समस्या प्रभावित अन्य क्षेत्रका नदीहरूमा पनि आउन सक्छ ।’ जेठ १० गते पहिरोले कालीगण्डकी थुनिएको थियो । सेना र अन्य विशेषज्ञको पहलमा १८ घण्टापछि उक्त नदी खोलिएको थियो । यसअघि बुढीगण्डकी, भोटेकोसी, कास्कीको सेती, त्रिशूलीलगायतका नदीमा डेब्रिज पहिरोले क्षति गरेको इतिहास छ ।

काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘जलवायु तथा विपत् अनुसन्धान केन्द्र’ का हिमनदी र हिमताल विज्ञ डा.रिजनभक्त कायस्थले उच्च जोखिममा रहेका भनिएका ठुलागी, च्छो रोल्पा र इम्जा हिमतालदेखि तल्लो क्षेत्रमा पनि पहिरोको सम्भावना रहेको औंल्याए । ‘यस्तो बेलामा ठूला तालमात्र नभई साना हिमताल पनि फुट्ने समस्या हुन्छ,’ कायस्थले भने, ‘ती तालले डेब्रिज पहिरो निम्त्याउन सक्छन् ।’ हिमताल फुटे तल्लो तटीय क्षेत्रका लाखौं मानिसलाई असर गर्नेछ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.ऋषिराम शर्माले भूकम्पका कारण हिम क्षेत्रमा देखा परेको वातावरणीय परिवर्तन अध्ययनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । ‘स्थलगत अध्ययन गर्नेदेखि तालको अनुगमनलाई उच्च प्राथमिकतामा राखेका छौं,’ शर्माले भने, ‘बजेट अभावका कारण स्थलगत अध्ययन गर्न चाहिँ सकिएको छैन ।’ विभागले गत साता नै नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी उच्च जोखिममा रहेका हिमतालको स्थलगत अध्ययन गर्ने योजना बनाएको थियो । तर, हेलिकप्टरको अभावले अध्ययन गर्न नसकिएको शर्माले जनाए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतले गरेको स्थलगत र हेलिकोप्टरबाट गरेको अध्ययनले समेत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानमा करिब तीन हजार पहिरो पहिचान भइसकेको छ । अहिले साना पहिरो देखिए पनि मनसुनको अवधिका बेला ती ठाउँमा भीमकाय पहिरो जान सक्ने भन्दै भूगर्भविद्हरूले सचेत हुन सरकारलाई जानकारी गराइसकेका छन् । धेरै बस्ती जोखिममा रहेकाले मनसुनअघि नै ती बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने उनीहरूको सुझाव छ ।
कान्तिपुरबाट


  •  
  •  
  •