नेताहरुले आन्दोलनको स्प्रीड भुलेः  तुलाधर

136
  •  
  •  
  •  

काठमाडौं, २ कात्तिक (ओएनएस) : आदिवासी जनजाती आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले काँग्रेस, एमाले र क्रान्तिकारी स्प्रीडबाट आएका प्रचण्डले जनयुद्ध र जनआन्दोलनको मर्म भुलेको बताएका छन् । आइतवार राजधानीमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले भने, ‘यसैले अझै पनि आन्दोलनका कुरा भईरहेका छन् ।’
सबै वर्ग, जाति र समुदायलाई विभेदबाट मुक्त बनाउने संविधान नआए आदिबासी जनजातिहरुले नमान्ने बताउँदै तुलाधरले भने, ‘नेपाल सम्वत जनताको मुक्तिबाट स्थापित भएको संवत हो, यसलाई ब्यवहारिक रुपमा लागु गर्नु पर्दछ ।’
सडकमा हुँदा आन्दोलनका कुरा गर्ने नेताहरु सत्तामा पुगेपछि तिनै नेताहरुले विभेद गर्ने गरेकाले जनताले परिवर्तनको अनुभूति गर्न नपाएको पनि उनले बताए । ‘जनयुद्ध र जनआन्दोलनमा सबै तह र तप्काको सहभागिता थियो तर फेरी पनि बहुसंख्यक जनतामाथि विभेद कायमै छ’ उनले अगाडि भने, ‘सबैखाले विभेद कायम राखेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेर केही हुँदैन ।’

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै तुलाधरले नेपाल नेपाल सम्वत औपचारिक रुपमा मात्र लिएकोमा गुनासो गरे । मानवअधिकारवादी नेता तुलाधरको भनाई छ, ‘संसारमा कहीपनि देशमा नामबाट सम्वत चलेको छैन, यो हाम्रो नेपाल सम्वत आम नेपालीको गौरवको विषय भएपनि सरकारकै कारण व्यवहारमा लागु हुन सकेको छैन ।’


  •  
  •  
  •