पर्दा पछाडिका प्याड म्यान

सन्दर्भः अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस
1247
  •  
  •  
  •  

‘महिनावारी सामग्रीमा गुणस्तर तोक्नुपर्छ’

१४ वर्षको उमेरमा महिनावारी हुँदा मैले पीडा भोगे । एकातिर शारीरिक पीडा, अर्कोतिर घरमा बस्न नहुने, बार्नुपर्ने बाँध्यता ।

राधा पौडेल
सामाजिक अभियन्ता

आमाले कसरी सहनुहुन्थ्यो । म भने त्यो सहनै सक्दिनथेँ । त्यसबेला मलाई अझ ठूलो समस्या प्याडको थियो ।

घरमा भएका पुराना कपडा च्यातेर बनाइएका प्याडले महिनावारीको श्राव छेक्न मुश्किल पथ्र्यो । साधारण कपडाको प्याड लगाएरै हामी स्कुल जान्थ्यौं ।

बजारमा पाइने प्याडका विषयमा भने नर्सिङ पढ्दा मात्र थाहा पाए । तर पनि गाउँघरमा पाइदैँनथ्यो । पाइहाले पनि महंगो ।
महिनैपिच्छे दुई/तीन सय खर्चेर गतिलो प्याड लगाउन नपुग्ने । नर्सिङमा स्नातक पढ्दैगर्दा प्याडमै अध्ययन–अनुसन्धान गर्न थाले ।

त्यसैको फलस्वरुप अहिले २०१४ देखि हामीले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउन शुरु ग¥यौं ।
मैले महिनावारी हुँदा चुनौती भोगे । त्यसकै अन्तिम परिणाम हो यो ।

अहिले चितवनमा बनाइरहेको मितेरी जैविक सेनेटरी प्याड कुहिने खालको प्याड हो । जुन सल्लाको बोक्राबाट बनेको हुन्छ ।

यसमा जतिपनि सामाग्री छन् ति सबै कुहिने खालको छन् । तीनदेखि ६ महिनाभित्र सबै कुहिएर जान्छ । हामीले यसको कच्चा पदार्थ भारतबाट ल्याएका हौँ । सात जना महिलाहरुले काम गरिरहेका छन् । यो बजारमा आइसकेको छ ।
महिनावारी सामाग्री धेरै थरिका छन् जुन नेपालमा पनि पाइन्छ ।

जुनसुकै भएपनि १०० प्रतिशत सुरक्षित छैनन् । जुनसुकै लगाएपनि केटी वा महिलाको आफ्नो इच्छा अनुसार लगाउन पाउनुपर्छ । यो गुणस्तरीय हुनुपर्छ ।

सरकारले महिनावारी सामग्रीकाे मापदण्ड तोक्नुपर्छ । जसरी औषधी वा नुनमा सरकारले गुणस्तरिय चिन्ह प्राप्त गर्छर्, त्यस्तै महिनावारी सामग्रीमा पनि मापदण्ड बनाएर गुणस्तर तोक्नुपर्छ ।

अर्को नेपालमा मर्यादित महिनावारी कार्यमा अभियान नै शुरु भइसकेको छैन ।  मैले झन्डै ६० जिल्ला र १२/१५ वटा देश घुमे । त्यहाँ महिनावारी सबैले बारेको पाए । सबैले महिनावारीलाई अशुद्ध, फोहोरी, अशुभ भनेर परिभाषित गरेको र अभ्यास गरेको पाए ।

‘प्याड बनाउनेलाई सरकारले अनुदान दिनुपर्छ’
म ज्ञान महर्जन(४०) । ललितपुर महानगरपालिका–२५ मेरो घर । करिब ५ वर्षदेखि सेनेटरी प्याड बनाउँदै यस सम्बन्धी तालिम समेत सञ्चालन गर्दै आएको छु ।

         ज्ञान महर्जन

बजारको प्याड महंगो र एक पटक प्रयोग गरेपछि पुनः प्रयोग नहुने हुँदा महिलाहरुले किन घरमै प्याड बनाएर प्रयोग नगर्ने भन्ने लाग्यो ।

त्यसपछि प्याड बनाउन थाल्यौं । अहिले हामीले पुनःप्रयोग गर्न सकिने प्याड बनाउँदै आएका छौं ।
बजारको प्याड महंगो पर्छ । सबै महिला एवं किशोरीहरुले प्याड किन्न सक्ने अवस्था हुँदैन् । अहिले हामीले बनाएको प्याड एक देखि दुई वर्षसम्म टिक्छ ।

मार्केटको प्याड ४/५ घण्टा सम्म मात्र प्रयोग गर्न सकिन्छ । तर हामीले बनाएको प्याड धोएर, सुकाएर पुनः प्रयोग गर्न सकिन्छ ।

हामीले बजारमा पाइने रेडिमेड स्यानीटरी प्याड भन्दा स्वस्थकर र खर्चका हिसाबले पनि किफायती हुने पुनः प्रयोग गर्न सकिने घरेलु प्याड बनाउने तालिम दिंदै आइरहेका छौं ।

काठमाडौं, भक्तपुर, ललितपुर, रौतहट, नेपालगञ्ज लगायतका ठाउँमा गरेर एक हजार भन्दा बढीलाई तालिम दिइसक्यौं । जसले आफैँले प्याड बनाएर आफैंले प्रयोग गर्दछन् भने उनीहरुले बनाएको प्याड हामी पनि खरिद गर्छौं । यसका साथै हामीले महीनावारी सम्बन्धी भ्रम चिर्दै पुरुषलाई पनि जागरुक बनाउने अभियान चलाइरहेका छौं ।

२०६१ सालतिर कलेज पढ्ने क्रममा महिला अधिकारबारे वृत्तचित्र बनाउनेहरूसँग सहयोगीका रूपमा काम गरे । त्यो कामबाट मलाई महिलाका समस्याबारे बुझ्न झन् सहज भयो ।

हरेक महीना चार/पाँच दिन दिदीबहिनीहरू अछूत झैं घरको एक कुनामा खुम्चिएर बस्ने गरेको देखेपछि मलाई स्वच्छ महीनावारीबारे चेतनामूलक काम गर्ने सोच आयो । त्यसकै फलस्वरुप अहिले म यो अभियानमा लागि रहेको छु ।

बजारको माग अनुसार प्याड उत्पादन गर्न समस्या भइरहेको छ । सरकारले यसरी गुणस्तरीय प्याड उत्पादन गर्नेलाई अनुदान दिनुपर्छ ।
जसले गर्दा प्याड उत्पादनमा सहज होस् । यसका साथै सरकारले मध्यस्थको भूमिका पनि खेल्नुपर्छ ।

‘महिनावारी लुकाउने विषय बन्नु हुँदैन’
म अश्विन कार्की ‘पोखरेली प्याड म्यान’(१९) । मैले आफ्नो घरमा आमा महिनावारी भएको बेला बढी रगत भइरहेको देखे । उहाँलाई सहयोग गर्न विभिन्न तरिका अपनाइरहेको हुन्थे । आमाले बढी रगत भएको बेला सुतिको कपडा प्रयोग गरिरहनुभएको थियो । त्यसलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा सोच्न थाल्यौं । आमा र मेरो कन्सेपबाट काम गर्न थाल्यौं ।

अश्विन कार्की

सानै उमेरदेखि यसमा विषयमा मलाई उत्सुकता थियो । त्यहि क्रममा विभिन्न संघसंस्थासँग यस विषयमा जान्नकै लागि जोडिए । पोखराका अहिले मलाई चिन्नेहरु ‘प्याड म्यान’ कै रुपमा चिन्छन् र बोलाउँछन् पनि ।
विगत डेढ वर्षदेखि महिनावारीकै क्षेत्रमा काम गर्दै आएको छु ।

समाजमा जब मैले महिनावारी र प्याडका विषयमा कुरा गर्न थाले म आफै हाँसोको पात्र बने । महिनावरीको विषयमा खुलेर बोलिदैनथ्यो । महिनवारी भएको समयमा यो समस्या भएको छ । यसबारे कसरी जुध्ने, भन्ने विषयमा थाहा नभएपछि यो राम्रो, यो नराम्रो जानकारी हुँदैन् । महिनावारीको बारेमा नबुझेपछि यो अन्योलको विषय बनेको छ । हाम्रो अभियानका क्रममा उनीहरुलाई बुझाउने वातावरण नै नभएको पाए ।

महिनावारी यो हो भन्ने बारेमा बुझाउँदै जाँदा उनीहरुलाई छर्कंग भयो । त्यसपछि यसबारे विस्तारै बुझाउँदै गए । अहिले हामी प्याड बनाउने तरिका सिकाउन र महिनावारीबारे अभियानका क्रममा हजारौँ युवायुवतीहरु समक्ष पुगेका छौं ।

उनीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तरिका र यससँग जोडिएका स्वास्थ्यका विषयमा बुझाइरहेका छौं ।
भोलीका दिनमा पनि हामी त्यस्ता क्षेत्रहरुमा पुगेर महिनावारीबारे खुल्ला रुपमा बहस चलाउँदै जानेछौं ।

म चाहन्छु समाजमा महिनावारी छुवाछुत वा लुकाउने विषय नबनोस् । यो प्राकृतिक र नियमित प्रक्रिया भएकाले महिनावारी हुँदा आफैं बनाएर सफा प्याडको प्रयोग गर्न हामीले किशोरीहरुलाई सल्लाह दिँदै आएका छौं ।
सबैतिर महिनावारीको विषयमा वहस हुनुपर्छ भन्ने हो । महिनावारीवारीका विषयमा स्थानीय सरकारले पनि एजेन्डा बनाएर यस विषयलाई ल्याउनुपर्छ । सरकारले नै संघसंस्थासँगको सहकार्यमा महिनावारीका विषयमा अभियान चलाउनुपर्ने देखिन्छ ।


  •  
  •  
  •