‘जुम्लाका किसानलाई मौसमले पनि साथ दिँदैन’

285
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (ओएनएस) : जुम्ला जिल्लाको छुमचौर गाविसको छुमगाउँ संसारकै उच्च स्थानमा धान फल्ने स्थानको रुपमा परिचित छ । छुमचौरको छुमगाउँ समुद्री सतहबाट ३ हजार ५० मिटरको उचाइमा पर्छ । मौसम अनुकुल अर्थात गर्मी हुने ठाउँमा औसतमा तीन महिनामा धान पाक्छ । तर जुम्लाका किसानले धान फलाउनका लागि आठ महिना दुःख गर्नुपर्छ ।

औल अर्थात गर्मीठाउँमा धान लगाउन किसानले कम मेहनत गर्छन्, हावापानीले बढी मेहनत गरिदिन्छ । लेक अर्थात चिसो हावापानीमा धानको बीउ उमार्ने बेलादेखि धान फलाउने बेलासम्म किसानले मात्रै मेहनत गर्नुपर्छ, हावापानी उल्टो चुनौती दिएर बस्छ । प्रतिकुल हावापानीकै कारण जुम्लामा धानको उत्पादकत्व राष्ट्रिय भन्दा ४० प्रतिशतले कम छ ।

कश्मीरबाट आएका गुरु चन्दननाथले कालो मार्सी धानको बीउ र धान रोप्ने विधि जुम्लामा भित्रयाएका हुन् भन्ने जनविश्वास छ । गुरु चन्दननाथले ल्याएको धानको बीउ सर्वप्रथम तातोपानी गाविसमा पर्ने लाछु ज्युला (धान रोप्ने खेत) को बीचको गुरु फोक्टो (सानो खेत) मा छरियो । अहिले त्यही धानलाई जुम्ली मार्सी अथवा काली मार्सी भनिन्छ । चन्दननाथले चैत ८ गते बीउ केलाउने, १२ गते पानीमा भिजाउने, १६ गते पानीबाट उतारेर घरको न्यानो कोठामा बीउ टुसाउनका लागि राख्ने (गुम्स्याउने) र २० गते व्याडमा छर्ने कुरा सिकाएका थिए रे ।

जुम्लाको बेसी क्षेत्र समुन्द्री सतहदेखि २ हजार मिटरको उचाईमा पर्छ । समुद्री सतहबाट एक हजार ८ सय मिटरभन्दा अग्लो ठाउँको जाडोमा धानको बीउ आफैं उम्रँदैन । त्यसलाई जवरजस्ती उमार्नुपर्छ । यही कारणले होला ‘चैत १२ गते घर नआएको जुम्ली म¥यो भनि जान्नु’ भन्ने यहाँको टुक्का अझै प्रचलनमा छ ।

धान फल्ने संसारको सबैभन्दा अग्लो ठाउँ, जुम्लाको छुमचौर गाविसको छुमा गाउँका किसानले पनि यहि विधि अपनाएर धानको बीउ उमार्छन् । यो गाउँ समुद्री सतहबाट ३ हजार ५० मिटरको उचाइमा पर्छ । यो विधि नयाँ पुस्तामा सर्दै गएर छुमचौर एकका ताराबहादुर बोहोराको पुस्तासम्म आइपुगेको छ । उनले चैत ८ गते धान केलाए र ११ गतेसम्म सुकाए । विहीबार चैत १२ गते पानीमा भिजाएको धानलाई १६ गते उतारेर घरभित्र भान्सा कोठामा लान्छन् ।

धानलाई जुटको बोरामा राखेर बीउ टुसाउनका लागि पुग्ने गरी न्यानो बनाएर राख्छन् । बिहान र बेलुका पानी छम्किएपछि चार दिनमा त्यो बीउ टुसाउँछ । जोतेर, हिल्याएर पानी जमाएको ब्याडमा २० गते त्यो बीउ छर्छन् । विश्वका लागि इतिहास बनाएको ठाउँको वासिन्दा भएकोले उनलाई धानको बीउ उमार्दा, रोपाइँ गर्दादेखि धान भित्रयाउँदासम्मको दुःख दुःख जस्तो लाग्दैन ।

जुम्लाको रोपाइँ, संसारको सबैभन्दा अग्लो ठाउँमा धान फलाउन गरिने रोपाइँ हो । यो यस्तो वैज्ञानिक उपलब्धि हो जुन बाँकी संसारका कुनै किसानले र कृषि वैज्ञानिकले हासिल गर्न सकेका छैनन् । यो रोपाइँ खानेकुरा कम फल्ने ठाउँका मानिसलाई अन्नबुटी दिएर बचाउने रोपाइँ हो । तर सात सय वर्षभन्दा पुरानो यो परम्परा धेरै बाँच्ला भन्ने आशा छैन बोहोरामा ।

ब्लाष्ट नामको विनाशकारी रोग र उत्पादन समेत कम हुने भएपछि अहिले उनले २५ प्रतिशत खेतमा मात्रै धान रोपेका छन् । उनी भन्छन्, ‘धान रोप्दा, गोड्दा धेरै दुःख हुन्छ तर कम फल्छ, कुनै वर्ष एक गेडो धान भित्रयाउन नपाउने गरि ब्लाष्ट रोगले सखाप पारिदिन्छ । मेरो ६ हल खेत मध्ये अहिले मुश्किलले डेढ हल जति खेतमा जुम्ली मार्सी रोपेको छु ।’ पहिले धान रोपिने लाछु ज्युलामा अहिले आलु, मकै, सिमी र कोदो फल्छन् । करिब डेढ सय घरधुरीको जग्गा रहेको ज्युलामा अहिले मुश्किलले दुई दर्जन घरधुरीले धान रोप्छन् ।

कुरा यतिमैं सीमित छैन । जडीवुटीको अकाशे खेती धान खेतीका लागि काल बनेर आएको छ । ‘धान फलाउने सबैभन्दा अग्लो ठाउँ छुमका किसानहरु धान रोप्ने बेलामा यार्चागुम्बा, गुच्ची च्याउ लगायतका जडीवुटी टिप्न लेक जान्छन् । धान फलाउन भन्दा जडिबुटी टिप्न सजिलो भएपछि अहिले धानखेती घटेको हो ।’ कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाका बरिष्ठ वैज्ञानिक रामचन्द्रीका प्रसादले बताए ।

छुमका मानिसका लागि रोपाइँ गर्ने ऋतु, ऋतुहरुको ऋतु हुन छाडेको छ । जुम्लामा बैशाखको अन्तिमदेखि जेठको मध्यसम्ममा रोपाइँ सकिन्छ । ऋतुहरुको ऋतु त यार्चागुम्बा टिप्न जाने ऋतु हो, जुन धान रोप्नु भन्दा झण्डै एक महिना अघि नैं सुरु हुन्छ ।

‘जडीबुटी खोज्दा थोरै मेहनत लाग्ने र धेरै आम्दानी हुन्छ भने धेरै मेहनत गरेर थोरै धान फलाउनेतिर को लागोस् ?’ ५३ वर्षीय बोहोरा भन्छन्, ‘एक महिना यार्चागुम्बा टिपेर एक जनाले नैं एक लाख रुपैंयाँ भन्दा बढी लिएर आउँछ, १० हजारको चामल किन्यो भने आफ्नो खेतमा फल्ने भन्दा धेरै आउँछ ।’

पहिले चामल लिन झण्डै ५ घण्टा हिँडेर जुम्ला बजार आउनु पर्नेमा अहिले चामलका बोरा गाउँमैं पुग्छन् । उनी भन्छन्, ‘पहिले चामल किन्न जुम्लाबजारमैं पुग्नु पथ्र्यो । अहिले त टाढा भनेको उर्थु चौतारा हो त्यो पनि ३ घण्टा मैं पुगिन्छ । अलि बढी पैसा तिर्ने हो भने गाउँमै जति पनि किन्न पाइन्छ ।’

किसान पनि आफैं अल्छी बन्दै गएका छन् । खाद्य संस्थानले सहुलियतमा चामल बाँड्ने र गैर सरकारी संघ संस्थाले पनि विकासका नाममा चामल बाँडेपछि किसानमा अल्छिपन बढेको अनुभव छ जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख तेजनारायण गैरेको । उनी भन्छन्, ‘किसानहरु सौखिन भए, जडिवुटी कोरेर (संकलन गरेर) पैसा कमाउने र जिरा मसिनो चामल किनेर खाने बानी लागेको छ । अब त उनीहरुलाई स्थानीय जुम्ली मार्सी धानको भात पनि नमिठो लाग्न थालेको छ ।’

ब्लास्ट रोगले पनि केही समयदेखि लेकाली धानलाई सताइरहेको छ । यसले त्यसको उत्पादन घटाएको छ । किसानले जानेर पनि बुझ पचाउने गरेको विज्ञहरु बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार विकास अधिकृत धन बहादुर कठायतका अनुसार धानको बीउलाई नुन–पानीमा हालेर डुबेका बीउ मात्र ब्याडमा राखेका खण्डमा ब्लास्ट रोग ८५ प्रतिशत कम हुन्छ ।

उनी भन्छन्, ‘किसानहरु पहिले त जुनसुकै बालीको बीउ राख्दा पनि राम्रा, पोटिला दाना छानेर राख्ने गर्थे । तर किसानहरु यसो गर्ने जाँगर चलाउँदैनन् । ब्लाष्ट रोग नलाग्ने प्रमाणित भएको चन्दननाथ–१ र चन्दननाथ–३, सिफारिस गरिएको भए पनि थोरै किसानले मात्रै लगाएका छन् । जुम्लाका किसानले लेकाली १ र लेकाली ३ जातका धान पनि लगाउन सक्छन् ।’

पछिल्लो समयमा केही किसानले कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धान चन्दननाथ–१ र चन्दननाथ–३ को बीउ लगाउन थालेका छन् । ब्लाष्टजस्तो सर्वनास गर्ने रोग नलाग्ने भएपछि धान खेतीले त निरन्तरता पाउनेछ । त्यस्तै छुम गाउँका किसानहरु पनि ‘बाउ बाजेको बीँडो थाम्ने’ अभियानमा जुटेका छन् ।

बोहोरा भन्छन्, ‘पाका पुस्ताबाट कम्तिमा बीउ जोगाउनु पर्छ भन्ने कुरा उठेको छ । ‘बाउ बाजेको बीँडो थाम्नुपर्छ’ भन्नेमा हामी छौं । एक हल खेतमा रोप्दा डेढ क्विन्टल भन्दा बढी नफल्ने भएपछि युवा पुस्ताले त धान रोप्नमा वास्ता गर्नै छाडिसके ।’

आफूहरुले पनि धान नरोपे पुर्खाले बनाएको इतिहास मेटिने हो की भन्ने डर पुराना पुस्तालाई छ । तर नयाँ पुस्ता अल्छि बन्दै गएकोले जुम्लाले बनाएको संसारकै अग्लो स्थानमा धान फलाउने ठाउँको रेकर्ड कति समयसम्म कायम राख्न सक्ने हो थाहा छैन ।


  •  
  •  
  •