प्रदेश ७ : राजधानीकाे विषयलार्इ लिएर बिहानैदेखि धनगढीमा प्रदर्शन, मेयरले मागे माफी

733
  •  
  •  
  •  

काठमाडाैं, १२ असाेज (अाेएनएस) :  प्रदेश नम्बर ७ मा स्थायी राजधानी र नामकरणमा असहमति जनाउँदै कैलालीको धनगढीमा भइरहेको प्रदर्शन आज पनि जारी छ । प्रदेश ७ काे सरकारले गोदावरीलाई राजधानी तोकेपछि प्रदर्शनमा उत्रिएका असन्तुष्टहरुले आज पनि प्रदर्शन जारी राखेका हुन् ।बिहीबार देखि आम हड्तालको घोषणा गरिएपछि त्यहाँ बिहानैदेखि बजार तथा पसल ठप्प छन् । जारी आन्दोलनलाई धनगढी उपमहानगरपालिका मेयर नृप बड स्वयंले अगुवाइ गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ७ का प्रमुख सचेतक तारालामा तामाङ संयोजकत्वको प्रदेशको नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष समितिले तयार पारेको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेस गरेकाे थियाे। राजधानी गोदावरी बनाउने प्रस्ताव पेस भएसँगै धनगढीबासी आन्दोलित भएका हुन् । धनगढीमा रहेका संरचनामा करोडौं लगानी गरेपछि राजधानी सार्ने गलत निर्णय भइरहेको भन्दै बुधबारदेखि सर्वसाधारण आन्दोलित भएका हुन् ।

आन्दोलनकारीहरुले अहिले प्रदेश ७ को प्रदेशसभा भवनअगाडि भेला भएर धर्ना दिइरहेका छन् । वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै उनीहरुले धनगढीलाई नै स्थायी राजधानी तोक्न माग गरेका छन् ।प्रदेश राजधानीलाई लिएर धनगढीका मेयर बडले उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले कारबाही माग गर्दै जिल्ला प्रशासन, कार्यालय कैलालीमा लिखित निवेदन नै दिएका छन् ।

मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर आफूबाट केही गलत शब्द प्रयोग भएको भन्दै माफी मागेका छन् ।


  •  
  •  
  •