‘स्थायी शान्ति र एकताका लागि योग र साधना जरुरी छ’

367
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (ओएनएस) : कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानको भवनमा शुक्रबार एक कार्यक्रमका बीचमा ओशो तपोवनको रजत जयन्ती महोत्सवको उद्घाटन भएको छ । संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्बाङले ओशोको तस्विरमा माल्यार्पण गरेर महोत्सवको उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै सभाध्यक्ष नेम्बाङले लामो प्रयास र ठूलो त्यागबाट प्राप्त भएको शान्ति भत्कन्छ की भन्ने आशँका उत्पन्न भएको बताए । देशमा स्थायी शान्ति स्थापना, एकता र सदेभाव कायम राख्नका लागि योग, साधना र ध्यानको जरुरी रहेको उनको भनाइ छ ।

५ मिनेटमैं आफ्नो मन्तव्य सकेका सभाध्यक्षले भने, ‘ओशो तपोवन र यस अन्तर्गतका केन्द्रहरु भाषणको थलो बन्नु हुँदैन । देशमा लामो त्याग र बलिदानबाट प्राप्त भएको शान्ति भत्कन्छ की भन्ने आशँका छ । यस्तो बेलामा योग र साधना सिकाएर समुदायमा संयमता, धैर्य, एकता र शान्तिको सन्देश प्रवाह गरेकोमा ओशो तपोवनको जति प्रशँसा गरे पनि पुग्दैन ।’

नेपालका लागि भारतीय राजदुत रञ्जित रे ले नेपाल, भारत लगायतका विभिन्न देशमा शान्ति स्थापना र सद्भाव कायम राख्न ओशोको सन्देशले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘नेपाल र भारतका बीचमा साँस्कृतिक तथा अध्यात्मिक कुराहरु मिल्छन् । उहाँको सन्देशले हामीलाई उत्प्रेरित गरिरहेको छ । ओशो तपोवनले नेपालमा मात्रै नभएर अरु मुलुकमा पनि ओशोको सन्देश मार्फत अध्यात्मिक जागरण पैदा गरेकोमा म अत्यन्त प्रभावित छु ।’

ओशो तपोवनका स.स्थापक स्वामी आनन्द अरुणले नेपालका ८० स्थान र विश्वका २० देशका ७० स्थानमा ध्यान केन्द्र स्थापना भैसकेको बताए । नेपालले अध्यात्मिक मुलुकका रुपमा पहिचान बनाएको बताउँदै उनले पूर्वमा अध्यात्म तथा पश्चिममा भएको प्रविधिको विकासलाइृ प्रयोग गर्न सके दिगो विकास सम्भव हुने बताए ।

उनले भने, ‘भौतिक विकाससँगै मानसिक समस्याहरु श्रृजना भैरहेका छन् । ओशोले भौकि विकास र अध्याम्कि विकास सँगै हुनुपर्छ भन्नु भएको छ । उहाँको देशनाले मात्रै संसारमा आइरहेको संकटबाट मुक्ति दिनसक्छ ।’ कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य महजोडीले देशको वर्तमान अवस्थाका बारेमा व्यङ्ग्यात्मक गीत तथा प्रहशन प्रस्तुत गरेका थिए ।

नेपाल जस्तो सुन्दर देश बनाउने, हिमाल, पहाड, तराई बनाउने तर एउटा राम्रो नेता दिनलाई टाउको कन्याउने भनेर ईश्वरलाई गुनासो गरेका थिए । गीत मार्फत उनीहरुको व्यङ्ग्य थियो, ‘एउटा राम्रो नेता द्या भए नेपालको विकास हुन्थ्यो, राम्रो नेता दिँदा तिम्रो के पो जान्थ्यो, नेपालमैं काम पाएको भए खाडी को जान्थ्यो ? ईश्वर तिमिले उसिनेर खाने आलु बनायौं, भुटेर खाने भटमास बनायौ तर देश हाँक्ने नेताहरुलाई बदमास बनायौ ।’

‘म डनको फोटो स्टुडियो’ नामको प्रहशन मार्फत मह जोडीले देशमा भैरहेका विकृती बिसंगतीमाथि व्यङ्ग्य प्रहार गरेका थिए । उक्त प्रहशनमार्फत देशमा भैरहेको लोडसेडिङ्का कारण लाईट बालेर फोटो खिच्नु परेकोले लामो संघर्षको उपलब्धी नेपालीले अँध्यारोमात्रै पाएको सन्देश दिइएको थियो ।

संविधानसभाका सदस्यहरुको कामप्रति व्यङ्ग्य गर्दै म डन र ह डन मिलेर स डन चलाउने कुरा गर्दै प्रहशन सकिन्छ । प्रज्ञा भवनमा भएको कार्यक्रमसँगै तीन दिनसम्मको ओशो साहित्य तथा पुस्तक प्रदर्शनी पनि सकिएको ओशो तपोवनले जनाएको छ । भोली विहान ८ बजेपछि नागार्जुन हिल्समा रहेको ओशो तपोवनमा ओशो सम्बोधी दिवस तथा रजत जयन्ती महोत्सव सञ्चालन हुनेछ ।


  •  
  •  
  •