कास्कीमा व्यवसायिक आलमण्ड खेती, दुई वर्षमैं फल लाग्यो

1133
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : कास्कीको ल्वाङघलेल गाविस वडा नम्बर ४ कोलेलीमा रोपिएको चिनिया बदाम (आलमण्ड) मा फल लागेको छ । बिरुवा रोपेको दुई वर्षमैं फल लागेपछि कोलेलीमा आलमण्डको व्यवसायिक उत्पादनको सम्भावना बढाएको छ ।

मर्दी हिमाल कृषि सहकारी संस्थाले नेपालमैं पहिलो पटक २०६९ देखि व्यवसायिक आलमण्ड खेती सुरु गरेको हो । अघिल्लो वर्ष रोपेका एक हजार ९ सय बिरुवामध्ये एक सय ५० भन्दा बढी बिरुवामा फूल लागेको र ४ वटामा फल लागेको सहकारीका अध्यक्ष बाबुराम गौतमले बताए ।

उनले भने, ‘हामीले पहिलो पटक २०६९ सालमा परीक्षणका रुपमा ७० भन्दा बढी बिरुवा लगाएका थियौं । त्यसपछि २०७० मा ७० रोपनी भन्दा बढी क्षेत्रफलमा एक हजार ९ सय बिरुवा रोप्यौं । केहि बिरुवामा पहिलो वर्ष नैं फूल लागेको थियो । यस वर्ष ४ वटा बिरुवामा फल लागेपछि व्यवसायिक रुपमा आलमण्ड खेती गर्न सकिन्छ भनेर हामीलाई विश्वास दिलाएको छ ।’

‘आलमण्ड स्टडी ग्रुप’ को संयोजनमा मर्दी हिमाल कृषि सहकारी संस्थाको परियोजनाका रुपमा आलमण्ड खेती भैरहेको हो । समुन्द्री सतहबाट एक हजार ५ सय मिटरभन्दा माथिको सितोष्ण हावापानीमा आलमण्डको खेती गर्न सकिन्छ । नेपालको कुल भू–भागको करिव ३५ प्रतिशत क्षेत्रमा यसको खेती गर्न सकिने सम्भाव्यता अध्ययनबाट देखिएको छ ।

बिरुवा रोप्ने बेलामैं डेढ वर्षको भैसक्ने भएकोले रोपेको एक वर्षभित्रै फूल फुल्न थाल्ने परियोजनाका संयोजक सुन्दर अधिकारीले बताए । उनले भने, ‘कलमी गरेर उत्पादन भएको बिरुवा रोप्ने बेलामैं डेढ वर्ष भैसकेका हुन्छन् । पहिलो एक दुई वर्ष फूल लागे पनि फल लाग्दैनन् । २०७० मा रोपेको एक हजार ९ सय बिरुवामध्ये ८ सय बिरुवा मात्रै बचेका थिए । त्यसमध्ये एक सय ५० भन्दा बढीमा फूल लागे पनि ४ वटामा चिचिला (दाना) लागेका छन् ।’

यस परियोजनालाई बिस्तार गरेर कोलेलीको एक हजार रोपनी क्षेत्रफलमा पुर्याउने लक्ष्य रहेको आलमण्ड स्टडी ग्रुपले जनाएको छ । अर्को वर्षदेखि आलमण्डबाट आम्दानी गर्न सकिने परियोजनाका सुपरभाइजर समेत रहेका अध्यक्ष बाबुराम गौतमले बताए । यस वर्षदेखि बिरुवा उत्पादनका लागि कोलेलीमैं नर्सरी स्थापना गरिएको उनको भनाइ छ ।

उनले भने, ‘बिरुवा उत्पादनका लागि एक महिना अगाडी नर्सरी तयार गरेर आलमण्डको बीउ छरेका छौं । अबको एक महिनामा उम्रन्छ होला । यस सहकारीले व्यबसायिक रुपमा बिरुवा समेत उत्पादन गर्छ ।’ ग्रुपले आलमण्डसँगै जडिवुटी, मौरी र माछापलन तथा कृषि पर्यटन गरी ६ वर्षको लागि १० करोड भन्दा माथिको परियोजना तयार पारेको छ ।

प्रति बोट विश्वको औषत उत्पादन ११ के.जी. भए पनि परियोजनाले एक बोटमा न्यूनतम ५ के.जी. उत्पादन हुने अपेक्षा गरेको संयोजक सुन्दर अधिकारीले बताए । उनले भने, ‘आलमण्डको उत्पादन परिक्षणकै अवस्था रहेको छ । बजारमा हालको थोक मूल्य प्रति के.जी. ८ सय १० भए पनि हामीले यस्को न्यूनतम मूल्य ५ सय रुपैंयाँ राखेका छौं । प्रतिबोट न्यूनतम ५ के.जी. उत्पादन भए पनि यो परियोजना सफल हुन्छ भन्ने हाम्रो दाबी छ ।’

पहिलो वर्ष रोपेको आलमण्ड अहिले ९ फिटसम्म अग्लो भएको सुपरभाइजर बाबुराम गौतमले जानकारी दिए । अहिलेसम्म जग्गाको मुल्याङ्कन बाहेक १५ लाख रुपैंयाँभन्दा बढी खर्च भैसकेको उनको भनाइ छ । यस वर्ष कोलेलीमा आलमण्डसँगै किवीको खेती सुरु गरिएको छ । पहिलो वर्ष परीक्षणका रुपमा २ सय २० किवीका बिरुवा लगाइएको सहकारीले जनाएको छ ।

आलमण्डमा भिटामिन ई, प्रोटिन, क्याल्सियम, आइरन, फस्फोरस लगायतका तत्वहरु पाइन्छ । सौन्दर्य तेल, क्यान्सर विरुद्वको औषधि तथा आँखाको सुरक्षाका लागि यसको प्रयोग हुने ‘अलमण्ड स्टडी ग्रुप’ का संयोजक कुसुम केशव पराजुलीले बताए ।


  •  
  •  
  •