आज दिउँसो चन्द्रग्रहण लाग्ने

367
  •  
  •  
  •  

काठमाडौं २२ असोज (ओएनएस)

आज दिउँसो दुई बजेर ५९ मिनेटपछि चन्द्रग्रहण लाग्दैछ । आज आश्विन शुक्ल पूर्णिमा उप्रान्त प्रतिपदाका दिन पूर्णिमा र प्रतिपदाको सन्धिमा चन्द्रग्रहण लाग्ने गरेको छ । ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण बेलुकी छ बजेर १९ मिनेटमा समाप्त हुने पञ्चाङ्क समितिले दिउँसो दुई बजेर ५९ मिनेटबाटै ग्रहणले स्पर्श गरेपनि नेपालबाट भने चन्द्र उदाएपछि पाँच बजेर ५१ मिनेटपश्चात् मात्र देख्न सकिने बताएको छ ।

जम्मा २८ मिनेटमात्र देखिने खण्डग्रास चन्द्रग्रहण भएपनि तीन प्रहर अघिदेखि नै ग्रहण बार्नुपर्ने र त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजन, शयन, मैथुन, श्रृङ्गार र बध गर्न नहुने शास्त्रीय धारणा रहेको समितिको भनाई छ । आज चन्द्रग्रहण परेपनि एकोद्दिष्ट श्राद्ध, कार्तिक स्नान आरम्भ र आकाशदीप दान सुरु गर्न कुनै बाधा नरहेको पनि समितिले स्पष्ट गरेको छ । ग्रहणको चन्द्रोदयपछि पाँच बजेर ५१ मिनेटमा स्नान गरी ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।


  •  
  •  
  •