सडक तताउने विपक्षी मोर्चाको निर्णय

293
  •  
  •  
  •  

काठमाडौं, १२ माघ (ओएनएस)  : संविधानसभामा प्रस्ताव निर्माण समिति गठन भएपछि आक्रोशित भएका एमाओवादी नेतृत्वको  विपक्षी मोर्चाले उक्त कदमबिरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

विपक्षी मोर्चाले सत्तारूढ दलले विगतको सम्झौता, पद्धति, परम्परा उल्लघंन गरेको आरोप लगाउँदै त्यसबिरुद्ध सडक तताउने निर्णय गरेको मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको मोर्चा बैठकले ६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनबाट स्थापित मूल्य र मान्यता लत्याएर संविधानसभा सभाध्यक्ष सुवास नेम्वाङले प्रस्ताव समिति गठनको प्रस्ताव पेस गरेको भन्दै त्यसविरुद्ध निर्णायक सडक संघर्ष थाल्ने निर्णय गरेको फोरम नेपाल अध्यक्ष यादवले बताए ।

सोमबार नै बस्ने एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठकले सडक संघर्षको कार्यक्रम तय गर्ने भएको छ ।

मोर्चाले देशैभरि प्रतिकात्मक विरोध कार्यक्रमसमेत गर्ने तयारी थालेको छ । यसअघि सभाध्यक्ष नेम्वाङले विपक्षीको नाराबाजीबीच प्रस्ताव निर्माण समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित गराएका थिए । उक्त समिति निर्माण प्रश्चात् अ आक्रोशित बनेको विपक्षी मोर्चाले प्रतिगामी कदम भन्दै नेम्वाङको पुत्ला समेत जलाइसकेको छ ।


  •  
  •  
  •