नेपाल बन्दसहित २३ गतेअघिका आन्दोलन फिर्ता

125
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आगामी १९ गतेको नेपालबन्दसहित २३ गतेअघिका आन्दोलन फिर्ता लिएको छ । सिंहदरबार सोमबार बसेको बैठकले २४ गतेपछिको नेपाल बन्दको कार्यक्रमलाई सशक्त बनाउन आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ गतेको नेपाल बन्द र २३ गतेअघिका आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । प्रचण्डले भने, ‘२४ देखि २६ गतेको नेपाल बन्दलाई सशक्त बनाउन आन्दोलनलाई परिमार्जन गर्ने निर्णय गरेका हौ । अब सम्पूर्ण शक्ति २४ गतेपछिको आन्दोलनमा परिचालन गर्नेछौ । ’

बैठकका दौरान प्रचण्डले १९ गतेको नेपाल बन्दसहित २३ गतेसम्मका आन्दोलनका कार्यक्रम फिर्ता लिने प्रस्ताव गरेका थिए । मोर्चाले २४ गतेपछिको आन्दोलनलाई सशक्त बनाउनको लागि २१ गते बृहत अन्तरक्रिया गर्ने पनि निर्णय गरेको छ । त्यसअघि आन्दोलनलाई अघि बढाउन कार्यदलको बैठक बस्नेछ । कार्यदलले नेताहरुको कार्यविभाजन गर्नेछ ।

यस्तै मोर्चाले सत्तारुढ दलले ठोस प्रस्ताव नल्यासम्म वार्ता नगर्ने पनि निर्णय गरेको छ । आमरण अनशनमा बसेका डा. गोविन्द केसीप्रति पनि ऐक्यबद्धता जनाउने मोर्चाले निर्णय गरेको प्रचण्डले जानकारी दिए । उनले भने, ‘डा. गोविन्द केसीको अनशनमा हामीले ऐक्यवद्धता जनाउने निर्णय गरेका छौ, साथै प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले केसीको अनशनप्रति दिएको अभिब्यक्ति खेदजनक छ । ’मोर्चाले भिसा प्रोसेसिङको जिम्मा विदेशी कम्पनीलाई दिने कार्य तत्काल स्थगित गर्न पनि सरकारसँग माग गरेको छ ।

दलहरुबीच विवाद बढ्दै गएपछि विगत दुई महिना यता संविधान निर्माण प्रक्रिया अबरुद्ध छ । सत्तारुढ कांग्रेस र एमाले संविधानको विवादित विषयमा सहमति हुन नसके प्रक्रियाबाट संविधान निर्माण प्रक्रिया अघि बढाउनु पर्ने अडानमा छन् भने विपक्षी मोर्चा सहमतिबाटै संविधान लेख्नु पर्ने भन्दै आन्दोलनमा छ । दलहरुबीच राज्य पुनर्सरचना शासकीय स्वरुप लगायतका विषयमा विवाद छ ।


  •  
  •  
  •