ओपीडिको सेवा इमर्जेन्सीबाट

171
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) :  विभिन्न १० बुँदे मागसहित आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागप्रति सरकार उदासिन भएको भन्दै दबाबस्वरुप नेपाल चिकित्सक संघले बुधबारबाट देशभरका सरकारी तथा निजी अस्पतालका इजर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारेको छ ।

सेवा ठप्प पारेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् भने अस्पतालका इमर्जेन्सी कक्षमा विरामीको भीड बढेको छ । वीर अस्पतालका अनुसार यो समाचार लेख्दासम्म सय भन्दा बढि विरामीलाई इमर्जेन्सी कक्षबाट उपचार गरिसकिएको छ भने २२ जना विरामीलाई भर्ना गरेर वार्डमा सरिएको छ ।

‘अन्य दिनको तुलनमा इमर्जेन्सीमा विरामीको भीड बढेको छ , यसअघि ओपीडिमा समय लिएकाहरुलाई इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ । ’ वीर अस्पताल इमर्जेन्सी कक्षका एक कर्मचारीले ओएनएससँग भने, ‘टाढाबाट आएका विरामीलाई मर्का नपारोस् भनेर ओपीडिका विरामीलाई पनि इमर्जेन्सीमा भर्ना गरिएको हो ।’

ती कर्मचारीका अनुसार अपेक्षित रुपमा भिड भने बढेको छैन । उनले भने, ‘अस्पताल बन्द भनेर पनि कतिपय विरामी नआएको हुन सक्छ, तर आएकाहरुको अहिले इमर्जेन्सबाट उपचार भैरहेको छ । ’ ती कर्मचारीका अनुसार अहिले इमर्जेन्सीमा डाक्टरहरुको संख्या पनि बढाइएको छ । मेडिकल वार्ड र सर्जिकल वार्डका डाक्टरहरुलाई इमर्जेन्सी वार्डमा डिउटीमा खटाइएको छ ।


  •  
  •  
  •