वन्तले बुझाए १० करोड धरौटी

229
  •  
  •  
  •  

काठमाडौँ, ७ पुस : पूर्वसशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा नबस्न सोमबार १० करोड रुपैयाँ धरौटी बुझाएका छन् ।

वयान नसकिएकाले उनलाई हिरासतमा राख्ने निर्णय अख्तियारले गरेपछि उनले एक घन्टाभित्रै धरौटीबापत १० करोडको बैंक ग्यारैन्टी बुझाएका थिए । वन्तले सिटिजन्स बैंक इन्टरनेसनललाई ‘ग्यारेन्टी’ राखेर वन्त साँझ ७:३० बजे अख्तियारबाट बाहिरिएका थिए ।

अख्तियारले भ्रष्टाचार आरोपमा निलम्बन गरिएका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तसँग उक्त धरौटी माग्ने निर्णय गरेको थियो। प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित बसेको सात सदस्यीय आयोगको बैठकले छानबिन प्रयोजनका लागि वन्तसँग धरौटी रकम माग गर्ने निर्णय गरेको हो ।

आयोगको इतिहासमै पहिलोपल्ट धरौटी जमानतमा छाड्न यतिको परिमाणमा रकम माग भएको छ । व्यक्तिको चलअचल सम्पत्तिको स्रोत मूल्यांकन गरेर मात्र बैंक धरौटी जमानत बस्न तयार हुन्छ ।

बयान सकिएको एक घन्टाभित्रै वन्तले यतिको धरौटी राखेको देखेर अख्तियारका अधिकारी आश्चर्यचकित भएका छन् । अख्तियार उच्च स्रोतका अनुसार अब वन्तको सम्पत्तिसमेत छानबिन गरिने भएको छ ।

धरौटी बुझाउन नसके वन्तलाई अख्तियारको हिरासतमा राख्ने पूर्वतयारी थियो । अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले वन्तको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ आकर्षित भएपछि धरौटी माग गर्नुपरेको बताए ।

उक्त दफामा भ्रष्टाचारमा कारबाही चलाएको व्यक्ति फरार भई बेपत्ता हुनसक्ने मनासिब अवस्था देखिएमा वा बिगो हानिनोक्सानी भएको देखिएमा आयोगले निजसँग प्रचलित कानुनबमोजिम धरौटी वा जेथाजमानत माग्नसक्ने र नदिएमा थुनामा राख्नसक्ने व्यवस्था छ ।

स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतले वन्तसँग झन्डै डेढ घन्टा बयान लिएका थिए। बयान सकिएपछि अख्तियार धरौटी रकम लिने निष्कर्षमा पुगेको थियो । बयानका लागि वन्त केही सहयोगीका साथमा दिउँसो १२ बजे सादा पोसाकमा अख्तियारमा उपस्थित भएका थिए ।

बयानमा बिनाप्रक्रिया मुलुकभरका युनिटमा सामान आपूर्ति भएको, छानबिनका क्रममा अस्तित्वमै नभएको झोले कम्पनी खडा गरेर मालसामान खरिदको जिम्मा दिइएको, सम्बन्धित युनिटसम्म त्यस्ता सामग्री नपुगेका कारण राज्यलाई करोडौं हानिनोक्सानी भएकोलगायत सवाल गरिएको थियो ।
– अन्नपूर्ण पोष्ट दैनिकबाट


  •  
  •  
  •