नियमावलीमा सहमति जुटाउने विषयमा सभामुखद्वारा देउवासँग भेट

194
  •  
  •  
  •  

काठमाडौँ, १७ बैशाख(ओएनएस) : संसद नियमावलीको विवादको टुङ्गो लगाउनका लागि सभामुख ओनसरी घर्ती मगरले पहल गरिरहेकी छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी उनले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी छन् ।

संसद नियमावली पारित हुन नसक्दा संसदका गतिविधिहरू समेत प्रभावित भएपछि नेताहरूसँग यसका विषयमा छलफल गर्ने क्रममा सभामुख घर्तीले सभापति देउवालाई ठूला दलका नेताहरूबीच यथासक्य चाँडो सहमतिको वातावरण तयार गरिदिन आग्रह गरेकी छन् ।

उनले आगामी बैशाख २१ गतेदेखि बजेट अधिवेशन सुरू हुने भएकाले पनि त्यसअघि सहमति गर्नुपर्ने आवश्यकता सभापति देउवासामू औल्याएको कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताएका छन् ।

जवाफमा देउवाले नयाँ संविधानका सबै संरचना निर्माण नहुन्जेलसम्म सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्का अन्य समिति झैँ संसदीय विशेष सुनुवाइ समिति पनि स्वतः व्यवस्थापिका–संसद्को समितिमा परिणत हुनुपर्ने भनाई राखेको सचेतक श्रेष्ठले जानकारी दिएका छन् ।

कांग्रेस लगायतका साना दलले हाल कायम रहेको कार्यसमितिलाई यथावत् राख्नुपर्ने अडान राखेका छन् भने सत्तारूढ दलहरूले नयाँ संविधानअनुसार नै समितिको गठन गर्नुपर्ने अडान राख्दै आएका छन् ।


  •  
  •  
  •