काठमाडौँ, २८ फागुन(ओएनएस) : संयुक्त मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
मोर्चाले शुक्रबार बिहान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संविधान निर्माण, मधेस आन्दोलनका घाइतेको उपचार, शहिद परिवार, कालोबजारी नियन्त्रणलगायतका ७ बुँदे माग राखेको छ । मोर्चाले आफ्ना सबै मागहरू चैत मसान्तसम्म पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए कडा आन्दोलन गर्ने समेत जनाएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आन्दोलनबाट समस्या समाधान नहुने भन्दै आज साँझ नै वार्तामा बस्न मोर्चालाई प्रस्ताव गरेका छन् ।
मोर्चाले मधेस आन्दोलनका क्रममा भएका सरकारी दमनको न्यायीक छानविन गरि पीडितलाई क्षतिपूर्ति दिन समेत माग गरेको छ। यस्तै आन्दोलनका क्रममा लगाएका मुद्दाहरु फिर्ता लिन समेत आग्रह गरेको छ । भूकम्प पीडितलाई राहत, उद्दार र पूनर्निर्माणमा समेत जोड दिन मोर्चाले माग गरेको छ ।
मोर्चाले करिब ६ महिनाअगाडि राखेको ११ बुँदे मागसहित थप केही माग राखेर ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएको हो । मधेसी मोर्चाले आफ्ना ११ बुँदे मागलाई पहिलो बुँदामा उपबुँदाका रूपमा प्रस्तुत गर्दै अन्य ६ बुँदा पनि ध्यानाकर्षण पत्रमा राखेको छ । पहिलो बुँदामा मोर्चाले संविधानमा भइसकेको संशोधनमा चित्त नबुझाउँदै समानुपातिक समावेशी र निर्वाचन क्षेत्रको माग अघि सारेको छ ।
मोर्चाले मधेसमा दुई प्रदेश हुनुपर्ने, मौलिक हकमा समानुपातिक समावेशी हुने प्रष्ट व्यवस्थासहित अलग धाराको व्यवस्था गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, बहुभाषिक नीति, बहुराष्ट्रिय राज्यका रूपमा परिभाषित गर्नुपर्नेलगायतका माग राखेका छन् ।
यस्तै मोर्चाले भूकम्प पीडितको राहत तथा पुनर्निर्माणलाई तीव्रता दिन, कालोबजारी अन्त्य गर्न र आम हड्ताल अवधिभरको कर मिनाहको माग पनि गरेको छ ।