१ लाख सिलिण्डर ग्यास तराईमै अलपत्र

161
  •  
  •  
  •  

काठमाडौं, १२ कात्तिक : नेपाल आयल निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीको अनाहकको किचलोका कारण नेपाल छिरिसकेको करिब १ लाख सिलिन्डर ग्यास तराईमै अलपत्र छ । निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीबीच कुरा नमिल्दा पछिल्लो २० दिनदेखि ७० बुलेट ग्यास (करिब ८८ हजार ९ सय सिलिन्डर) तराईका विभिन्न जिल्लामा थन्किएका छन् ।

तराईमा अलपत्र ग्यास पहाडी सडकमा आउन नसक्ने ठूला गाडीमा भरिएका बुलेटमा छन्। ती सबै भारतीय गाडी हुन् । त्यस्ता गाडी घुम्ती नभएका तराईका समथर सडकसम्म मात्र आउन सक्छन् ।

निगमले जबर्जस्ती यस्ता बुलेट काठमाडौं ल्याउन खोजेपछि ढुवानी व्यवसायीसँग विवाद उत्पन्न भएको हो । ग्यास उद्योगी भने तराईमै सिलिन्डरमा भरेर काठमाडौं ल्याउने पक्षमा छ ।

पूर्वका नाकामा आएका ग्यास त्यहीँका उद्योगले भरेर काठमाडौं पठाउन खोजे पनि निगमले अटेर गर्दा समस्या आएको हो । निगमसँग एउटा पनि ग्यास बुलेट छैन । भारतीय ग्यास बुटेलमा ग्यास नेपाल भित्रिन्छ ।

निगम प्रवक्ता दीपक बरालले ढुवानी चालकलाई काठमाडौंसम्म ग्यास बुलेट ल्याउन आग्रह गरिएको स्विकारे । ‘उनीहरुले काठमाडौंसम्म ग्यास बुलेट ल्याउन आनाकानी गर्दै आएका छन्,’ उनले भने, ‘तर, हामी काठमाडौंमै ग्यास ल्याउनुपर्ने पक्षमा छौं ।’

१ लाख सिलिन्डर बजार आए पनि अहिले उपभोक्ताले ठूलो राहत पाउने उद्योगीको भनाइ छ । ‘एक लाख सिलिन्डर भनेको धेरै हो,’ ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भने, ‘विराटनगर तथा धुलाबारीमा आएका ग्यासलाई रिफिल गरेर ग्यास बुलेट खाली गर्ने र भारततिर पुनः लोडका लागि पठाउनु अहिलेको आवश्यकता हो ।’

‘जुन उद्योगले भर्न सक्छ, तत्काल भर्न दिनुपर्छ। अहिले जनतालाई ग्यास आवश्यक छ । उद्योगको आवश्यकता छैन,’ उनले भने, ‘निगम र ढुवानी व्यवसायीको विवादले उपभोक्ता मर्कामा पर्नुहुन्न ।’ सकेसम्म बुलेट नै काठमाडौं ल्याऊ, नसके त्यहीँका उद्योगलाई ग्यास भर्न दिएर सिलिन्डर ल्याएर वितरण गर्नुपर्ने उनको सुझाव छ ।

निगमको क्षेत्रीय कार्यालयमा थन्किएका ग्यास बुलेट चालकले काठमाडौं नजाने बताएका छन् । पहाडी बाटोमा ग्यास बुलेट चलाउन नसक्ने यसअघि नै निगमलाई जानकारी गराएका छन् । निगमले धुलाबारी र विराटनगरबाट काठमाडौंसम्म आउने भाडा दिने बताए पनि ढुवानी व्यवसायी आउन मानेका छैनन् ।

भारतले लगाएको अघोषित नाकाबन्दीका कारण उपभोक्ताको चुलो निभेका बेला निगम र व्यापारी आपसमा विवाद गरेर बस्दा उपभोक्ता मर्कामा परेका छन् । भारतीय नाकाबाट आएका ग्यास बुलेट उद्योगमा रिफिलिङ गर्न नदिएर निगमको क्षेत्रीय कार्यालयमै थन्काएर राख्दा उपभोक्ता मर्कामा परेका हुन् ।

लगातार तराई बन्द र भारतको अघोषित नाकाबन्दीका कारण उपभोक्ताको जनजीवन कष्टकर बनेका बेला ग्यास बुलेट नाकामै थन्किनु दुःखद भएको अर्यालले बताए । उसै पनि २५ प्रतिशत मात्रै ग्यास बुलेट चालु छ । त्यसमा पनि विभिन्न बहाना निकालेर बुलेट रोक्दा नेपाललाई घाटा भएको छ ।

३० दिनदेखि जारी अघोषित नाकाबन्दीबीच धेरै ग्यास बुलेट नेपाल भित्रिएका छन्। तर उपभोक्ताले विगत एक महिनादेखि एक सिलिन्डर ग्याससमेत पाउन सकेका छैनन् । भारतबाट धेरथोर ग्यास नेपाल भित्रिएको छ तर जनताको घरमा एउटा पनि सिलिन्डर पुगेका छैनन् । आएका ग्यास कता गयो, न निगमलाई थाहा छ न उद्योगी । निगमस्रोतका अनुसार हालसम्म २ सयभन्दा बढी ग्यास बुलेट नेपाल भित्रिएका छन् ।
– नागरिक दैनिकबाट


  •  
  •  
  •