काठमाडौँ, २१ फागुन(ओएनएस) : सुगौली सन्धि जलाउने प्रयास गर्ने करिब एक दर्जन युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
लैनचौरस्थित भारतीय दूतावास अगाडि नेपाल र बेलायतबीचको सुगौली सन्धि जलाउने प्रयास गरेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका युवाहरुलाई पक्राउ गरिएको हो । उनीहरूलाई महाराजगञ्जस्थित प्रहरी वृत्तमा राखिएको छ ।
सुगौली सन्धि भएको दुई सय वर्ष पुगेको दिन पारेर युवाहरूले सन्धिको प्रतिलिपी जलाउने कार्यक्रमको आयोजना गरेका थिए । ग्रेटर नेपालको ब्यानरसहित दूतावासतर्फ जाने क्रममा प्रहरीले उनीहरुलाई बाटोमा नै रोकेपछि त्यहीँ सन्धि जलाउने प्रयास गर्दा प्रहरीले सबैलाई पक्राउ गरेका थिए । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीले नाराबाजी गरेका थिए । उनीहरूले सुगौली सन्धिमा गुमाएको भू-भाग फिर्ता हुनुपर्ने माग समेत गरेका थिए ।
सन् १८१६, मार्च ४ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिपछि नेपालले पूर्वमा टिष्टापारी र पश्चिममा सतलजपारीको भूमि नेपालले गुमाएको थियो ।