काठमाडौँ, २८ मंसिर(ओएनएस) : सभामुख ओनसरी घर्ती मगरले आज प्रमुख ३ दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएकी छिन् । लामो समयदेखी व्यवस्थापिका संसद अवरूद्ध हुँदै आएकोमा त्यसको निकास खोज्नका लागि सभामुखले प्रमुख दलहरूसँग छलफल गर्न लागेकी हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेशी मोर्चाले आ-आफ्नो अडान नछाडेपछि संसदमा अवरोधको श्रृंखला थप लम्बिएको छ । मधेसी मोर्चाले पुन:निर्माण विधेयकलाई संसदमा अघि बढाउन दिने निर्णय गरेपनि कांग्रेसले आफ्नो सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव पनि संसदमा अघि बढाउनुपर्ने माग राखेपछि मधेसी मोर्चा र नेपाली कांग्रेसबीच कुरा नमिल्दा संसदको अवरोध कायमै छ ।
मधेसी मोर्चाले दुवै विधेयक संसदमा प्रस्तुत गर्नका लागि प्याकेजमा सहमति हुनुपर्ने माग राख्दै आएको छ भने कांग्रेसले दुवै विधोयकलाई एकसाथ संसदमा अगाडि लैजाने भन्दै आफ्नो अडान कायम राखेपछि भूकम्प पुन:निर्माण विधेयक समेत छायाँमा परेको छ।
गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पुन:निर्माण कार्यलाई अगाडि बढाउनकालागि संसदमा पेश गरिएको पुन:निर्माण प्राधिकरणसम्बन्धी विधेयक संसदमा पेश हुन सकेको छैन् । यसले भूकम्पबाट प्रभावित जनताले राहत पाउन सकेका छैनन् भने पुन:निर्माणको कार्य पनि रोकिएको छ ।
यीनै विषयमा छलफल गर्नकालागि सभामुख घर्तीले आज तीन प्रमुख दलसँग छलफल गर्न लागेकी हुन् । दिउँसो ४ बजे सभामुखकै कार्यकक्षमा हुने बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति सुशिल कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ३ दलकै प्रमुख सचेतकहरुलाई बोलाइएको छ ।